• २७ असोज २०८१, आइतबार

नेपालगन्जमा हिन्दु र मुस्लिम दुबै समुदाय मिलेर लगाए दसैँको टीका

blog

हिन्दु मान्यजनबाट टीका लगाउँदै मुस्लिम अगुवा। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २६ गते। हिन्दु र मुस्लिम सद्भावका लागि देशमै चिनिएको नेपालगन्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन्।

शनिबार हिन्दुको महान् पर्व बडादसैँका अवसरमा मुस्लिम अगुवाले धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका हुन्।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना हिन्दु मान्यजनबाट दसैँको टीका र जमरा लगाउनुभयो।

उहाँले दसैँ, ईद, बकराईद, तिहार, रक्षाबन्धन, होली र मोहम्मद डे जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो। 

“हामी सद्भावको सहरमा छौँ। यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो। यहाँ मुस्लिमले हिन्दुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो। 

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरइद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको जानकारी दिनुभयो।

बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एक आपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएका छन्।

यसैगरी, अर्का मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका लगाउनुभएको छ। उहाँले आफूले टीका र जमरा ग्रहण गरेपश्चात् आफूभन्दा सानालाई टीका लगाएर आशिर्वाद दिनुभयो। सिद्धिकीले वर्षौँदेखि हिन्दू र मुस्लिम दुबै समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आउनुभएको छ।