• १२ पुस २०८१, शुक्रबार

चाडपर्वमय बैङ्किङ क्षेत्र, सुकिला नोटप्रति छैन आकर्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २५ गते । नेपालीको महान् चाड दसैँको बिदा पनि सुरु भइसकेको छ । अन्य क्षेत्रसँगै बैङ्किङ क्षेत्र पनि चाडपर्वमय बनेको छ । तुलनात्मक रूपमा चाडपर्वका बेला रेमिट्यान्सको आप्रवाह बढी हुने र आमसर्वसाधारण ‘फेस्टिभ मुड’ मा हुँदा बैङ्कमा राख्ने र निकाल्ने पैसाको प्रवाह बढेको छ ।

पछिल्लो समय डिजिटल भुक्तानीले गर्दा बैङ्कको काउन्टरसम्म पुग्नुपर्ने बाध्यता नहुने तथा दसैँकै समयमा विभिन्न काउन्टरमा नयाँ नोट साट्ने लाइन यसपालि हटेको छ । जसले गर्दा बैङ्कका काउन्टरमा सर्वसाधारणको उपस्थिति कम रहेको बैङ्करहरू बताउँछन् ।

दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले केन्द्रीय बैङ्कले वालेटमार्फत ३० पटकसम्म झिक्न मिल्ने सीमा बढाएका छन् ।

राष्ट्र बैङ्कले दसैँ र तिहारका अवसरमा भुक्तानी प्रदायक संस्था डिजिटल वालेटको सीमालाई बढाएको हो । बैङ्कले भुक्तानी सेवा प्रदायकलाई परिपत्र गर्दै सर्वसाधारणले दैनिक ३० पटकसम्म वालेटबाट करोबार गर्न सक्ने व्यवस्था गरेको छ । एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था थियो । 

दसैँ र तिहारमा हुने डिजिटल कारोबारलाई ध्यानमा राख्दै बैङ्कले असोज २१ देखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ देखि कात्तिक २२ गतेसम्मका लागि सीमा बढाएको हो । सो दिनभन्दाबाहेकका दिनमा भने बैङ्कको पुरानै व्यवस्था लागु हुने जनाइएको छ । 

एक सातामा थपियो त्रिपन्न अर्ब निक्षेप

चाडपर्वको उल्लास, तलब भत्ता, रेमिट्यान्स आप्रवाहमा बढोत्तरीलगायतका कारण एक साताको अवधिमा बैङ्कहरूमा ५३ अर्ब निक्षेप थपिएको छ । राष्ट्र बैङ्कका अनुसार असोज २० गते आइतबारसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६६ खर्ब २५ अर्ब पुगेको छ । जुन एक साताको अवधिमा ५३ अर्ब निक्षेप थपिएको हो । गत असोज १४ गते सोमबारसम्म बैङ्क तथा वित्तीय संस्थाहरूमा कुल ६५ खर्ब ७२ अर्ब निक्षेप रहेको थियो ।

पछिल्लो वित्तीय प्रणालीमा निक्षेपको तुलनामा सुस्त बनेको कर्जा भने विस्तार हुन सकेको छैन । पछिल्लो एक सातामा कर्जा १९ अर्बले मात्र बढेको छ । असोज १४ गतेसम्म कुल ५२ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका बैङ्क तथा वित्तीय संस्थाहरूले असोज २० गतेसम्म आइपुग्दा ५२ खर्ब ६७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

सुकिला नोटमा कमी

सधैँ नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोट मात्रै वितरण गर्दा नोट साट्नेको सङ्ख्या घटेको छ । यसपालि करिब पाँच अर्ब सुकिला नोट वितरण गरिएको छ । 

राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैङ्क मातहतका कार्यालयबाट डेढ अर्ब र अन्य बैङ्कबाट समेत गर्दा करिब पाँच अर्ब बराबरको सुकिला नोट साटिएको छ । जुन अघिल्लो वर्षभन्दा २५ अर्बले कमी हो । अघिल्लो वर्ष करिब ३० अर्ब नयाँ नोट साटिएको थियो । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाए पनि त्यसमा सर्वसाधारणको धेरै आकर्षण देखिएन ।

नयाँ नोट छाप्न लाग्ने लागत कम गर्न हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोटले काम चलाएको थियो । राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको थियो । जुन यस पटकदेखि जोगिएको छ ।

दसैँमा दक्षिणा डिजिटल

दसैँमा टीका लगाएर दक्षिण दिँदा पनि सकभर डिजिटल माध्यमको प्रयोग गर्न राष्ट्र बैङ्कले सुझाव दिएको छ । राष्ट्र बैङ्कले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो सुझाव दिएको हो । यसका साथै दसैँका बेला बैङ्क नोटको जतन गर्न पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ । सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले सफा नोट प्रयोग गर्ने नीति लिएको छ । सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । दसैंमा देवीको प्रसादका रूपमा टीका, जमरासँगै दक्षिणाका लागि नोट प्रयोग गर्दा त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।