• १० मंसिर २०८१, सोमबार

त्रिशूलको माग बढ्यो, आरन खाली

blog

मन्दिरमा चढाउने त्रिशूल बनाउँदै मेलौली नगरपालिका–९ का कलवीरराम लोहार । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता  

बैतडी, असोज २४ गते  । दसैँको चहलपहलसँगै विभिन्न मठमन्दिरमा त्रिशुल, घन्ट, धामी झाँक्रीले लगाउने चाँदीका बाला र भगवतीका शक्तिपीठमा राँगा/बोकाको बलि दिने खुँडाको माग बढे पनि जिल्लाका अधिकांश आरन खाली छन् । आरनमा फलाम पिट्ने कालिगड छैनन् । आरनको सिप भएका अधिकांश दलित रोजगारी खोज्न भारत पलायन भएपछि गाउँमा अचेल कालिगड भेटाउन मुस्किल परेको छ । 

मेलौली नगरपालिका–९ मा दलित समुदायका एक सय घरधुरीमध्ये आरनको काम गर्ने जम्मा तीन वटा घरधुरी छन् । तीमध्ये एक हुनुहुन्छ कलवीरराम लोहार । चार छोरा रोजगारी खोज्न भारत पलायन भएपछि ५७ वर्षीय कलवीरलाई चाडपर्वका बेला त्रिशूल बनाउन भ्याइनभ्याइ छ । उहाँले फलाम पिट्ने जनशक्ति नहुँदा डन्डीको प्रयोग गरी त्रिशूल बनाउनु परेको बाध्यता सुनाउनुभयो ।  

यतिबेला सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीपाती भिœयाउने र गाज्जो (खर) काट्ने याम भएकाले आरनमा हँसिया, कुटो, कोदालो र फाली बनाउने पनि उत्तिकै छन् । आरनको अधिकांश काम खलो (बालीघरे) मै गर्दै आएका कलवीरराम त्रिशूल बनाएको भने नगद ज्याला पाउनुहुन्छ । चार छोरा भारत पलायन भएपछि घरका एक्ला सदस्य कलवीरलाई यो बेला काम भ्याउन हम्मे हम्मे परेको छ ।  

दलितका एघार वटा सिप लोप हुने अवस्थामा 

दलित समुदायसँग भएका सताब्दिऔँ पुराना ११ भन्दा बढी परम्परागत सिप हराउन थालेका छन् । दलितका आफ्नै मौलिक पेसामध्ये बिँणै बाजा बनाउने सिप, हुड्को बनाउने, छलिया र भडाहा नाच्ने, फलामका आरन, काठको खोलदेली, छालाका वस्तु, सिलाइबुनाइ, बाँसचोया, ठेकी तथा मदानी बनाउने, माटाका भाँडा बनाउने, हलो, फाली र पानी घट्टको सामग्री बनाउने सिपालु मानिस भेटिन छाडेका छन् ।  

दलित समुदायले अँगाल्दै आएका अधिकांश सिप र पेसा खलो प्रथा (बालीघरे) का कारण लोप हुँदै गएको दलित अगुवा नरिराम लोहारले बताउनुभयो । उहाँले परम्परागत पेसालाई प्रविधिमैत्री बनाएर सिपको संरक्षण गर्न नसक्दा समाजबाट महìवपूर्ण सिप हराउनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षभरि काम गरेर पाउने एक पाथी अन्नले जीवन धान्न गाह्रो भएपछि मौलिक पेसा र सिप छाडेर दलित भारतको बैङ्लोरलगायतका सहर जान थालेका छन् ।”

उहाँले थप भन्नुभयो, “स्थानीय तहको सरकारले दलितका पेसाको संरक्षण गर्न एउटा घन, हथौडा र पङ्खा दिएर मात्रै हुँदैन, बिजुली पुगेको ठाउँमा विद्युतीय उपकरण दिनु पर्छ । नयाँ पुस्तालाई तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ ।” 

जिल्लामा पचास हजार दलित 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बैतडीमा दलितको जनसङ्ख्या ५० हजारभन्दा बढी रहेको जनाएको छ । दलितसँग खेतको आली सम्याउने कोदाली, हलो जोत्ने फाली र घरदेखि मन्दिर सजाउने, बजा बजाउने कला, संस्कृति जस्ता ११ वटाभन्दा बढी सिप छन् । 

बैतडीलगायत सुदूरपश्चिममा आरनको काम गर्ने सुनार÷लोहार, मौलिक घरको खोलदली बनाउने काष्ठकला भएका वड जाति, ठेकी मदानी बनाउने चुनारा, दमाहामा छाला राख्ने सार्की, भडाहा र छलिया नाच्ने औजी, माटाका भाडाँकुँडा बनाउने कुमाल, बाँसचोयाको सामग्री बनाउने पार्की जाति छन् । दलित समुदायका पेसा प्रविधिमैत्री बन्न नसक्दा पछिल्लो समय हरेक घरधुरीबाट रोजगारीका लागि भारत जाने गरेको पाइएको छ ।