• २३ असोज २०८१, बुधबार

प्रहरी र कैदीको आँखा परीक्षण

blog

कैदी तथा प्रहरी कर्मचारीको आँखा परीक्षणमा सहभागी भएको टोली ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २३ गते । विश्व दृष्टि दिवस तथा ६९ औँ प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदी र प्रहरी कर्मचारीको आँखा परीक्षण गरिएको छ । बुधबार कारागारका कैदीबन्दी तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको आँखा परीक्षण गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङगला आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र कारागार कार्यालयको समन्वयमा कैदी तथा प्रहरीहरूको आँखा परीक्षण गरिएको हो । कैदी तथा प्रहरीहरूको आँखा परीक्षणसँगै निःशुल्क चस्मा वितरण गरेको पनि नेत्रज्योति सङ्घका शाखा उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कारागारमा सुरक्षामा खटेका प्रहरी कर्मचारी र कैदीबन्दीसहित ६८ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्षेत्र कार्यकर्ता काजीमान थेबेले जानकारी दिनुभयो । 

उहाँका अनुसार चस्मा लगाउनुपर्ने अवस्था भएका ३६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । नेत्रज्योति सङ्घले विगतदेखि नै समय–समयमा शिविर सञ्चालन गरेर आँखाका बिरामी तथा लाभग्राहीलाई सेवा पुर्‍याउँदै आएको छ ।