खेमराज सापकोटा
रानी, विराटनगर, पुस ४ गते । मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । गएराती भित्री सडक खण्डमा गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको ज्यान गएको हो ।
मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । घाइते दासलाई तत्काल उपचारका लागि रङ्गेली अस्पताल लगिएको भए पनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ कै २७ वर्षीय अकलेशकुमार मण्डल पनि घाइते अवस्थामा रहेको बताइएको छ ।
यसैबीच, मोरङकै ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखिएको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको मोटरसाइकल सडकछेउमा रोकेर राखिएको सिमेन्ट घोल्ने मेसिनमा राति नै ठोक्किएको हो ।
दुर्घटनामा ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते हुनुभएको हो । उनको शरीरका विभिन्न भागमा चोट लागेको र विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै घटनाका सवारीसाधन तथा सम्बन्धित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।