• ४ पुस २०८२, शुक्रबार

आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा अन्यौल

blog

आँपको ब्लक विकास कार्यक्रम कृषिज्ञान केन्द्र र स्थानीय तहबिच छलफल । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस ४ गते ।
धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ । कृषिज्ञान केन्द्र र स्थानीय तहबिच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो ।

गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ । सिंभूवा, बन्चरे, पाथिभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हाक्तिखर्कको तल्लो भ–भागमा आँप उत्पादनका लागि संभाव्य रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताउनुभयो । केन्द्रले मङ्सिर १० गते  सार्वजनिक सूचना जारी गर्दै ब्लक कार्यक्रम सञ्चालनका निवेदन आह्वान गरेको थियो । तर कुनैपनि निवेदन नपरेपछि उक्त कार्यक्रम अन्यौलनमा परेको पाइएको हो ।

१५ दिनको म्याद सकिदा पनि कार्यक्रम सञ्चालनका लागि तोकिएको छथरजोरपाटी गाउँपालिकाबाट एउटै पनि आवेदन नपरेको रानाको भनाइ छ । तोकिएको मितिमा आवेदन नपरेपछि ज्ञान केन्द्र केहि दिनकालागि आवेदनको म्याद थप्ने तयारी गरेको निमित्त प्रमुख रानाले बताउनुभयो ।

कार्यालयले आँप खेतिका लागि कृषक समूह, कृषि सहकारी, जल तथा वनउपभोक्ता समिति, कृषि फार्म वा कम्पनीलाई प्रस्ताव पठाउँन आह्वान गरेको थियो । आँप ब्लक सञ्चालनका लागि गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरुलाई पटकपटक जानकारी गराइए पनि गाउँका किसान सम्म सूचना नपुगेको गुनासो पाइएको छ ।

गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले आँप ब्लक सञ्चालनका लागि कृषि शाखामार्फत किसान र कृषक समूहमा जानकारी पठाइए पनि ठुलो क्षेत्रफल चाहिने भएकाले थप छलफल आवश्यक रहेको उहाँको भनाइ रहेको थियो । खालि रहेका समुदायिक वनमा समेत आँप खेती विस्तारको सम्भावना अध्ययन गरिरहेको समेत सुब्बाको भनाइ रहेको छ । बिरुवा र प्राविधिक सहयोग गरेर आँप प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष सुब्बाको भनाइ रहेको छ । ज्ञानकेन्द्रले छथर जोरपाटी ३, ४ र ५ को तल्लो क्षेत्रमा यो कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।

वडा नम्वर ४ का अध्यक्ष टेकबहादुर तामाङले भने आँप खेती सञ्चालनको मोडलबारे स्ष्पट नभएकाले अन्यौल भएको बताउनुभयो । आँप ब्लक कार्यक्रमका लागि किसान र सरकारी निकायको लगानीको मोडेल र अन्य प्राविधिक विषयमा बुझिरहेको जनाउनुभयो । गाउँपालिकाको सिंभूवा, बन्चरे, पाथिभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ क्षेत्रमा बसाइसराइका कारण धेरै जग्गा बाँझो छ । ज्ञानकेन्द्रले सोही जग्गा उपयोगमा ल्याउन आँप विकास ब्लक कार्यक्रम सञ्चालन गर्न लागेको हो । यो ठाउँमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनका लागि औद्योगिक ग्राम निर्माण गरिएको छ ।