• २२ असोज २०८१, मङ्गलबार

महिला साफ च्याम्पियनसिपको तयारी पूरा

blog

महिला साफ बारे जानकारी दिँदै आयोजक । तस्बिर : एन्फा

काठमाडौँ, असोज २२ गते । नेपालमा कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुन लागेको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेशले प्रतिस्पर्धा गर्दैछन् । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बङ्गलादेश तथा समूह ‘बी’ मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् ।

सहभागी टोलीलाई सातदोबाटोस्थित एन्फा मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न चार करोड ६० लाख आठ सय रुपियाँ रहेको एन्फाले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गर्दै आएको छ ।

यसअघि उपविजेतामा सीमित बन्दै आएको नेपालले यस पटक जितको लक्ष्य राखेको छ । नेपालले हाल बन्द प्रशिक्षणमा २७ खेलाडी राखेर तयारी गरिसकेको छ ।