• २२ वैशाख २०८१, शनिबार

कर्जा र निक्षेप विस्तार खुम्चियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३१ गते । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा कुल आन्तरिक कर्जाको विस्तार खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल आन्तरिक कर्जा १७ प्रतिशतले विस्तार भएकामा चालू आर्थिक वर्षमा भने १०.७ प्रतिशतले मात्रै बढेको छ । नेपाल राष्ट्र बैङ्कको आव २०७८/७९ को नौ महिनामा निजी क्षेत्रमाथिको दाबी १३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी २१.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेपको वृद्धि दर पनि सङ्कुचन भएर ५.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.७ प्रतिशतले बढेको थियो ।

२०७८ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो । यसैगरी चैत मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.६ प्रतिशत रहेको छ । २०७७ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४१.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ  प्रवाहित कर्जा १७.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैङ्कको कर्जा प्रवाह १४.८ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह २७.३ प्रतिशतले बढेको छ । 

गत चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । आव २०७८/७९ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.६, ओभरड्राफ्ट कर्जा २२.२, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १७.३, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११.९ र हायर पर्चेज कर्जा ४.६ प्रतिशतले बढेको छ भने ट्रस्ट रिसिट (आयात) कर्जा ४९.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ११ प्रतिशतले घटेको छ ।