• ८ मंसिर २०८१, शनिबार

विद्यार्थीका दसैँ योजना

blog

सरस्वती माध्यमिक विद्यालय, टोखा, काठमाडौँका कक्षा ८, ९ र १० मा अध्ययनरत हामी विद्यार्थी खाली समयमा सँगै बसेर विविध विषयमा कुराकानी गर्ने गर्छौं । यस पटक भने नजिकिँदै गरेको नेपालीको महान् चाड दसैँ कसरी मनाउने योजना छ र कसरी मनाउनु पर्छ भन्ने प्रसङ्गमा साथीहरूसँग कुरा गर्‍यौँ ।

दसैँ हिन्दु धर्मावलम्बीको महान् पर्व हो । १० दिनसम्म मनाइने यो चाड असोज वा कात्तिकमा पर्छ । दसैँमा मुख्य रूपमा दुर्गा भवानीको पूजा गरिन्छ । यस पर्वको पहिलो दिन घटस्थापना हो । त्यस दिन जमरा राखेर पूजा गरिन्छ । १० औँ दिन विजयादशमी हो भने अन्तिम दिन कोजाग्रत पूर्णिमा हो । जब दसैँ आउँछ तब नेपालीको मनमा उमङ्ग र खुसियाली छाउँछ । नेपालीहरू यस चाडलाई महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । त्यसै गरी दसैँको टीका पनि दुई प्रकारका हुन्छन् । राई, लिम्बू, तामाङ आदिले सेतो टीका लगाउँछन् भने क्षेत्री, बाहुनलगायतका जातजातिले रातो अक्षताको टीका लगाउने गरेको पाइन्छ । दसैँमा घर, आँगन, बाटोघाटोको विशेष सरसफाइ गरिन्छ । दसैँलाई विजयादशमीका रूपमा पनि चिनिने गरिन्छ किनभने विजयादशमीको दिन देवी भगवतीले राक्षसी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन रहेको छ । यसलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ ।

साथी पविसाले दसैँमा गाउँमा गएर धेरै समयसम्म भेट नभएका साथीभाइ, आफन्त, हजुरबुवा र हजुआमासँग भेट गर्न पाइने भएकाले खुसी लागेका कुरा बताउनुभयो । दसैँमा नयाँ नयाँ लुगा किन्ने, मिठा मिठा खानेकुरा खाने र साथीहरूसँग पिङ खेल्न जाने योजना रहेको बताउनुभयो । उहाँले, “टाढा टाढाका आफन्तजनसँग भेटघाट हुन्छ । दसैँले गर्दा धेरै समयदेखि बिग्रेको सम्बन्ध पनि राम्रो हुन्छ । दसैँले हाम्रो वर्षभरिका थकान भुल्न सहयोग गर्छ,” भन्नुभयो । अर्का साथी प्रदीप तामाङले “दसैँमा साथीहरूसँग मिलेर चङ्गा उडाउने र पिङ खेल्ने,” भन्नुभयो । त्यसै गरी उहाँले दसैँमा आफ्ना मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद थाप्ने कुरा बताउनुभयो । उहाँले दसैँ परिवारका सदस्यसँग बसेर मनाउनु पर्छ र आफूभन्दा सानाालाई सहयोग गर्र्नु पर्छ भन्ने विचार व्यक्त गर्नुभयो । अर्का साथी दीपक शर्माले दसैँमा विभिन्न प्रकारका खानेकुरा बनाउँदा र परिवारका सबै सदस्य सँगै बसेर खाँदा असाध्यै खुसी लाग्छ भन्नुभयो । उहाँले दसैँमा सबै परिवार मिलेर मामाघर जाने र त्यहाँ गएर नाचगान गर्ने, रमाइलो गर्ने कुरा सुनाउनुभयो ।

साथी दल सार्कीलाई दसैँमा घरमा खसी, बोका काटेर पकाउन र सबै जना मिलेर रमाइलो गर्न असाध्यै मन पर्छ । रातो टीका र जमरा लगाउन पनि मनपर्ने कुरा बताउनुभयो । साथीभाइसँग पिङ खेल्न र चङ्गा उडाएर माथि माथि बादलको छेउमा पु¥याउन साह्रै रमाइलो लाग्ने कुरा उहाँले भन्नुभयो ।

साथी सुनील सार्कीका अनुसार दसैँ एउटा मित्रता र सम्बन्धलाई जोड्ने चाडपर्व हो । यस चाडमा सामाजिक विकृति फैलिन सक्ने कुरा पनि उठाउनुभयो । त्यतिबेला कोही मानिस लागुपदार्थ सेवन गर्ने, जुवा, तास, लङ्गुर बुर्जाजस्ता खेल खेलेर धनको क्षति गरेर परिवारलाई दुःख, पीडा र तनाव दिने गरेको पनि पाइन्छ । यो सामाजिक विकृति हो । हामीले यसलाई नियन्त्रण गर्नु पर्छ  ।

साथी दीपेन्द्र रोकायले दसैँमा अरूको देखासिकी गर्ने चलन पनि समाजमा रहिआएको छ, यो एउटा समस्या हो भन्नुभयो । “मानिसले अरूले राम्रा लुगा गरगहना लगाएको देखेर आफूसँग पैसा नभए पनि ऋण गरेरै भए पनि त्यस्ता कपडा वा गरगहना लगाउने चलन पनि समाजमा रहेको छ तर अरूले घोडा चढ्यो भन्दैमा आफूले धुरी चढ्नु हुँदैन, आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्नु पर्छ,” उहाँले भन्नुभयो । साथी नवीना अछामीलाई भने दसैँमा सबैको हातबाट टीका लगाएर दक्षिणा पाउने भएकाले खुसी लाग्छ । दसैँको बेला सफा मौसम अनि ढकमक्क फुलेका सयपत्री फूलहरूले वातावरण रङ्गीन बनाइरहेका हुन्छन् । उहाँलाई दसैँमा मामाघर गएर मामा, माइजू दाजु, भाइसँग भेट गर्न पाउँदा खुसी लाग्ने कुरा व्यक्त गर्नुभयो ।

अर्का साथी महिमा पौडेलले दसैँमा धेरै फजुल खर्च हुने कुरा बताउनुभयो । “धेरै मानिस दसैँमा अरूका अगाडि धनीमानी र सम्पन्नशाली देखिनुका लागि आफ्नो हैसियतभन्दा बढी खर्च गर्छन् तर हामीले फजुल खर्च होइन, घाँटी हेरी हाड निल्नु भने झैँ आफ्नो हैसियत वा क्षमता अनुसारको खर्च गर्नु पर्छ, मितव्ययी बन्नु पर्छ र दसैँलाई सही तरिकाले मनाउनु पर्छ,” भन्नुभयो ।

शिक्षक हरिशरण लामिछोले दसैँ आपसी सद्भाव विस्तार गर्दै हर्षोल्लासका साथ एकता र भ्रातृत्वको चाडका रूपमा मनाउनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले हाम्रा परम्परागत संस्कार र संस्कृतिका सकारात्मक पक्षहरूलाई अनुशरण गर्नुपर्ने र विकृति, विसङ्गतिलाई हटाउँदै जानु पर्छ, भन्नुभयो । हामीलाई उहाँको कुरा असाध्यै राम्रो लाग्यो ।  

मुना

Author

युना तामाङ / अञ्जिता नेपाली