• २१ असोज २०८१, सोमबार

पथरीगोल्डमा १० लाख ८३ हजार रुपियाँ बचत

blog

पथरीशनिश्चरे गोल्डकपको आयब्याय सार्वजनिक गर्दै आयोजक । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, असोज २१ गते । मोरङको पथरीशनिश्चरे१ मा असोज ५ गते देखि १२ गते सम्म सञ्चालन भएको प्रथम इन्ट्रा अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ सञ्चालनबाट १० लाख ८३ हजार ७७७ रुपियाँ बचत भएको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको आयोजक संस्था पथरी–११ फुटबल क्लबले यस्तो जनाकारी गराएको हो । क्लबका खेल संयोजक जितन राईले दुई लाख सात हजार ५ सय रुपियाँ सङ्कलन हुन बाँकी रहेको बताउनुभयो । 

उक्त रकम सङ्कलन भएपछि बचत रकम बढ्ने राईले बताउनु भयो । ४७ लाख ६४ हजार तीन ३६ रुपियाँको आय ब्यय प्रस्तुत गर्दै संयोजक राईले सङ्कलित रकममा ७५ प्रतिशत सहयोग विदेशमा पसिना बगाइरहेका खेलप्रेमी नेपालीको रहेको जानकारी गराउनुभयो । 

गोल्डकपलाई पथरीशनिश्चरे नगरपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको थियो । क्लबका कोषाध्यक्ष मोहनकुमार श्रेष्ठले नगरमा राम्रो प्याराफिट हुने हो भने टिकटबाट नै राम्रो आर्थिक सङ्कलन हुने बताउनु भयो । 

पुरस्कार राशीमाभन्दा सहभागि टिमको पेयर शुल्क र अस्थायी प्याराफिट निर्माणमा बढी खर्च हुने श्रेष्ठको भनाई छ । क्लबका अध्यक्ष सुमन विकले विषम परिस्थिति र मौसमले साथ नदिँदा दिँदै पनि गोल्डकप सम्पन्न भएको बताउनुभयो । 

बचत भएको रकम क्लब सञ्चालन र दोस्रो संस्करणमा १० वटा क्लब सहभागि गराएर गोल्ड कप आयोजना गरिने बताउनुभयो ।