• २१ असोज २०८१, सोमबार

रोहिणीमा ४५० थान जग्गाधनी प्रमाणपुर्जा वितरण

blog

रोहिणीमा आयोजित लालपुर्जा वितरण समारोह । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर,असोज २१ गते । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । 

रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा वितरण गर्नुभयो ।

रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीद्वारा रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा आयोजित समारोहमा ४५० थान लालपुर्जा वितरण गरिएको अध्यक्ष यादवले बताउनु भयो ।

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले वर्षौँदेखि लालपुर्जा नपाएका जनतालाई लालपुर्जा दिन योजनाबद्ध तरिकाले लागिपरेको बताउनुभयो ।

उहाँले लालपुर्जाविहीन स्थानीयबासीले लालपुर्जा पाए भन्ने सन्देश दिन अभियानको रूपमा अघि बढेको बताउनुभयो ।

मन्त्री अधिकारीले उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपुर्जाबाट वञ्चित भएको बताउनुभयो ।

 । उहाँले भन्नुभयो, ‘‘जग्गाधनी प्रमाणपुर्जा दिन कानुन परिवर्तन पनि गर्नुपर्ने अवस्था छ । कतिपय कानुन बनाउन बाँकी छन्,कतिपय नागरिक वर्षौँदेखि पर्ती जग्गामा बस्नुभएको छ । तर, उहाँहरूको आफ्नै नाममा जग्गा छैन । हामी त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेका छौँ ।’’

मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उहाँहरूलाई छिटोछरितो रूपमा जग्गा दिनका निम्ति लागिपरेको बताउनुभयो । ‘‘जनताले एकातर्फ लालपुर्जा नपाएको र अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यी सबै कुराहरूलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेका छौँ, दसैँपछि आयोग गठन गर्छौँ ।’’ उहाँको भनाइ छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरे अनुसार काम गर्दै आएको बताउनुभयो । उहाँले विगतदेखि गर्दै आएको प्रयास आज सफल भएको बताउनुभयो । 

‘‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरूको लालपुर्जा नहुनु जटिल समस्याको रूपमा नै छ । यो समस्या समाधान हुँदैछ ।’’ उहाँको भनाइ छ ।

सो कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशी, निर्देशक दामोदर ढकाल, रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीलगायतले बोल्नुभएको थियो ।

लालपुर्जा पाएपछि रोहिणी–३ लक्ष्मीनगरका हृदयराम यादवले खुसी व्यक्त गर्नुभयो । ‘‘लालपुर्जा नपाउँदा धेरै समस्या थियो, पाएपछि धेरै खुसी लागेको छ ।’’ उहाँले भन्नुभयो ।