• २४ असोज २०८१, बिहिबार

दशैँमा कब्जियतको समस्याबाट कसरी बच्ने ?

blog

काठमाडौं, असोज २३ गते । दशैँ भन्नेबित्तिकै खानपानको चाड भने बुझिन्छ । दशैँमा मासु र मासुजन्य परिकार बढी मात्रामा खाने गरिन्छ । मासु आफैंमा पौष्टिकताले भरिपूर्ण भए पनि चाडवाडमा खान नजान्दा अन्य बेलाको तुलनामा पेटसम्बन्धी स्वास्थ्य समस्या बढी देखिने चिकित्सक बताउँछन् । 

होमियोप्याथी विशेषज्ञ डा.सरिना गुरागाईं दशैँमा खान नजान्दा पेटसम्बन्धी समस्या निम्तिने बताउनुहुन्छ । उहाँका अनुसार दशैँमा खान नजान्दा पाचनसम्बन्धी समस्या जस्तै कब्जियत, ग्यास्ट्रिकको समस्या बढी हुने गर्छ । 

उहाँका अनुसार कब्जियत हुनुको मुख्य कारण खानपान हो । हामीले खाना मुखमा हालेदेखि नै आन्द्राले खाना पचाउने रसायन उत्पादन गर्छ । सन्तुलित खाना नखाँदा आवश्यक पर्ने रसायनको उत्पादन कम हुन्छ जसले गर्दा पाचन प्रणालीसम्बन्धी स्वास्थ्य समस्या निम्तिने गर्छ । 

के हो कब्जियत ?

डा.गुरागाईंका  अनुसार कब्जियत पाचन प्रणालीसम्बन्धी समस्या हो । खाना पच्ने रसायन कम बन्ने हुँदा यस्तो समस्या निम्तिने उहाँ बताउनुहुन्छ । खाना पच्ने पदार्थ नबनेपछि खाना नपचेर ग्यास्ट्रिक, कब्जियतको समस्या हुन्छ ।  कब्जियत भएमा दिसा गर्न समय लाग्ने, पेट दुख्ने, दिसा गर्न गाह्रो हुने, दिसा कडा हुने, दिसा राम्रोसँग सफा नहुने जस्ता समस्या निम्तिने गुरागाई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पाचनप्रणाली राम्रो बनाउन आन्द्राहरुमा विभिन्न रसायन निर्माण गर्ने गर्दछन् । यो रसायन बन्न सन्तुलन भोजनको आवश्यक पर्छ । खाना पचाउने रसायन नबन्दा खाएको खानेकुरा राम्रोसँग पच्दैन जसले गर्दा कब्जियत हुने गर्छ ।”

कब्जियतका लक्षण 

कब्जियत भएमा दिसा नआउने, दिसा राम्रोसँग नखुल्ने,पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । लामो समयसम्म कब्जियत भएमा पायल्स हुने सम्भावना हुन्छ । कब्जियत भएमा ग्यास्ट्रिकको समस्या पनि हुन्छ । 

गुरागाईंका अनुसार कब्जियत बढ्दै गएमा दिसा गर्ने ठाउँबाट रगत जाने गर्छ । यो समस्यालाई बेलैमा समाधान नगरेर हेलचेक्राइँ गरियो भने अल्सर हुने डा.गुरागाई बताउनुहुन्छ।

कब्जियत हुने कारण  

अत्यधिक मरमसलाको प्रयोग गरि बोसोयुक्त मासुको सेवनले गर्दा यस्तो समस्या निम्तिने उहाँ बताउनुहुन्छ । गुरागाई भन्नुहुन्छ,“भान्सामा प्रयोग हुने अदुवा लसुन, दालचिनी, स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । तर,यसको अत्याधिक प्रयोग गरेर चिल्लो मासु सेवन गरेमा कब्जियतको समस्या हुन्छ । ” धेरै पानी नपिउने, खानामा सन्तुलन भोजन समावेश नगर्ने, फाइबरयुक्त खाना कम मात्र खाने मानिसलाई यस्तो समस्या उत्पन्न हुने उहाँ बताउनुहुन्छ । 

बच्ने उपाय 

कब्जियत हुनबाट बच्न बिहान उठ्नसाथ खाली पेटमा दुई गिलास मनतातो पानी पिउने । दैनिका दुई लिटर पानी पिउन गुरागाईको सुझाव छ । धेरै चिल्लो पदार्थ, कोकजस्ता सोडाजन्य पदार्थ नपिउन उहाँको आग्रह छ । माछा, मासु खाँदा सलाद, फलफूल सागपात प्रसस्थमात्रमा खाने गर्नुपर्छ । खानालाई सन्तुलन मिलाएर खाना सकेमा मात्र कब्जियतको समस्या समाधान हुने गर्छ ।  

चिल्लो मासु र कोल्ड ड्रिक्स सँग सँगै खाँदा स्वास्थ्यमा असर पर्ने हुँदा नखाना उहाँको सुझाव छ । कब्जियतको समस्या भएकाले रातो मासुभन्दा माछा र कुखुराको मासु खान उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “मासु मात्र नखाने त्यसका साथै सागपात खाने, फलफूल खाने, दाल खाने गर्नुपर्छ । खान सुरु सलादबाट गर्नुपर्छ । सलाद, सागसब्जी खाँदै मासु खान सुरु गरेमा खाना पच्दै जान्छ ।”


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।