• २१ असोज २०८१, सोमबार

खोलामा डुबेर बेपत्ता बालकको शव भेटियो

blog

सशस्त्र प्रहरीको गोताखोर टोली खोलामा बालकको खोजी गरिदै ।

सिराज खान

नेपालगन्ज, असोज २१ गते । डुडुवा खोलामा पौडी खेल्नेक्रममा शनिबार डुबेर बेपत्ता भएका एक बालकको शव आइतबार प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार शनिबार दिउँसो करिब ३ बजेको समयमा सात जना बालक नेपालगन्ज २० राँझास्थित डुडुवा खोलामा पौडी खेल्न गएका थिए । हुम्ला सिमिकोट–७ घर भई हाल नेपालगन्ज २० राँझामा डेरा गरी बस्ने वर्ष १६ का उपेश शाही डुबेर बेपत्ता भएका थिए । 

प्रहरीका अनुसार शाही डुबेको स्थान वरिपरि शनिबार नै सशस्त्र प्रहरी, राँझा प्रहरी बिट र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बेलुकासम्म खोजतलास गर्दा बालकको कुनै पत्ता लागेको थिएन । 

तर, आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगन्ज बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक केशव बुढाको कमाण्डमा ७ जनाको  लाइफबोट समेतको गोताखोर टोलीले डुबेकै स्थानबाट बालक शाहीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  

घटनास्थलको प्रारम्भिक काम पश्चात् शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएकोमा दिउँसो पोस्टमार्टम गरेर शवलाई मृतकका ठुलो बुवा प्रेमबहादुर शाहीलाई बुझाएको प्रहरीले जनाएको छ ।