• ११ पुस २०८१, बिहिबार

गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

blog

गृहमन्त्री रमेश लेखक ।

धुलिखेल (काभ्रेपलाञ्चोक), असोज २१ गते । गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलान्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्‍याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिनुभएको छ ।

सो क्रममा पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पुर्‍याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनर्स्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै उहाँले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ । गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिले नागरिकले व्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिरहेको उद्धार सेवा लगायतको विषयमा जानकारी दिनुभएको थियो । पालिका अहिले खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र विशेष गरी यातायात सेवालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर आज नै बिपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुन्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्‍याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । रासस