• २१ असोज २०८१, सोमबार

चार महिनापछि प्रहरीले शव निकाल्यो

blog

विरिङ नदीको किनारमा खनेर शव निकालिँदै । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, असोज २१ गते । हत्या गरी गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका –५ का २२ वर्षीय युवक राजेश ठाकुरको शव गाडिएको अवस्थाबाट प्रहरीले निकालेको छ ।  

सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले राजेशको सडेको अवस्थामा बाह्रदशी गाउँपालिका –७ स्थित विरिङ नदी बगरमा आइतबार साँझ  फेला पारेको हो । ५ फिटभन्दा गहिरो खनेर प्लाष्टिकले बेरिएको अवस्थामा ठाकुरको सडेगलेको अवस्थामा कङ्काल अवस्थामा शव फेला परेको थियो ।  

चार दिनको प्रयासपछि हत्या गरी गाडिएका ठाकुरको कङ्काल आइतबार साँझ बिरिङको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख  डिएसपी प्रकाश विष्टले बताउनुभयो ।

कङ्काल बारेमा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो । चार दिनदेखि प्रहरीले जेसीवी प्रयोग गरेर ठाकुरको शव खोजिरहेको थियो । प्रहरीले दुई दिनसम्म आरोपित राजवंशी परिवारको घर आँगन खनेको थियो । 

घरभित्र हत्यामा प्रयोग गरिएको हतियार बाम्फोक, मृतकका कपडा र शव सडाउन प्रयोग गरिएको नुन समेत फेला पारेको थियो । हत्या गरी दुबई गएका गणेश राजवंशीसँगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई उत्खनन् गरिएको डिएसपी विष्टले बताउनुभयो । 

ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । चार महिना अघिदेखि बेपत्ता भएका ठाकुरलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले बिहीबार र शुक्रबार घरमा उत्खनन् गरेको थियो ।

छिमेकी गणेश राजवंशी र उनकी भाउजू मुना मेचे राजवंशीलगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशङ्कामा प्रहरीले उनीहरूको घर उत्खनन् गरेको थियो । काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको थियो । 

घटनामा संलग्न गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएका थिए । मुनाका श्रीमान् अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा बस्छन् । मुना, उनका जेठाजु समीर राजवंशी र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको डिएसपी विष्टले जानकारी दिनुभयो । 

गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजाम ठाकुरले छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजी कार्यका लागि भन्दै निवेदन दिएका थिए । प्रहरीले गरेको अनुसन्धानका क्रममा ठाकुरको हत्या गरेर सुरुमा भान्सामा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।