• २१ असोज २०८१, सोमबार

गाई संरक्षणबाट धार्मिक पर्यटन प्रवर्द्धन

blog

गाई संरक्षण केन्द्रमा रहेका गाईहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २१ गते । तनहुँको व्यास नगरपालिकाले गाईको संरक्षणको लागि गौरवको योजनामा समावेश गरेको छ । गाईको माध्यमबाट धार्मिक पर्यटनको प्रवर्धन गर्न व्यास नगर गौरवको योजनामा समावेश गरिएको नगरपालिकाले जनाएको छ । 

योजना अन्तर्गत नगरपालिकाले वडा नम्बर–१० शिशुवा भतेरीमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । गाईलाई हिन्दुधर्म अनुसार पुज्ने भएकोले धार्मिक स्थलको रुपमा विकास गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । नगरप्रमुख न्यौपानेले भन्नुभयो, "नगरपालिकाबाट गाईको संरक्षणको लागि तीन जना कर्मचारीलाई तलबको व्यवस्था गर्नुका साथै आहाराको लागि वार्षिक पाँच लाखदेखि १० लाख छुट्याउने गरेका छौं ।"

पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्दो छ । हिन्दु धर्मावलम्बीहरुले गाईलाई धनकी देवी लक्ष्मी तथा माताको पुज्ने भएकोले नगरपालिको सञ्चालन गरेको गौ संरक्षण केन्द्र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको हो । यहाँ बालबालिकादेखि सबै उमेर समूहको गौ रक्षाका निम्ति सहयोग प्राप्त भइरहेको छ ।  

विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेका छन् । हिन्दू वैदिक सनातन धर्ममा गाईको महत्व धेरै छ । हिन्दूहरूले गर्ने कर्मकाण्डमा पनि गाईको गोबर, मूत्र र दूधलाई पवित्र वस्तुका रुपमा प्रयोग गरिन्छ। हाल एक सय तीन वटा गाई रहेको केन्द्रले जनाएको छ  । तीन सय रोपनी जमिनलाई घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ । 

गाईलाई छाडा छोड्ने क्रम बढेसँगै यो काम धेरैले रुचाएका छन् र अन्य पालिकाका लागि पनि अनुकरणीय बनेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । वाग्लेले भन्नुभयो, "राष्ट्रिय जनावर रक्षाका निम्ति पनि यहाँको गौशाला एक उदाहरण बनेको छ ।"

बालबालिकादेखि सबै उमेर समूहको गौ रक्षाका निम्ति सहयोग प्राप्त भएपछि गाईको पाल्नको लागि सहज भएको छ । विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेको गाई संरक्षण केन्द्रले जनाएको छ। 

गाईको संरक्षणको साथै छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित वि.सं. २०७६ सालदेखि देखि  केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा गाईलाई पूजा गरी दाना, चोकर घाँस, पराल खुलाउनेको सङ्ख्या दिन प्रतिदिन बढीरहेको व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । 

अहिले यो क्षेत्र धार्मिक अवलोकनको गन्तव्यस्थल बनिरहेको छ ।’ विभिन्न स्थानबाट गाईको अवलोकन गर्न आउनेक्रम बढ्दो रहेको धार्मिक पर्यटकलाई थप आर्षित गर्न १०८ वटा वरपिलका रुखहरु हुर्किरहेको उहाँले जानकारी दिनुभयो । सापकोटाले भन्नुभयो, "मादी नदीमा स्नान गरी १०८ वरपीपलका रुखहरु परिक्रममा गरी गाईलाई पूजा गर्ने भिड दिनप्रतिदिन बढीरहेकोले स्थानीय बासिन्दा उत्साहित भएका छन् ।" केन्द्रमा गाई ल्याउँदा एउटा गाईको रु. तीन हजार शुल्क लिने गरिएको छ । 

सङ्कलन भएको रकम थप पराल खरिदका लागि खर्च गर्ने गरिएको केन्द्रले जनाएको छ । गाईलाई चर्नको लागि घाँसे मैदानको व्यवस्था गरिएको छ । चर्न नसक्ने बुढा तथा जर्सी गाईलाई काटेर घाँस खुवाउनको लागि मादी नदी किनारमा हरियो घाँसे मैदान बनाइएको छ । केन्द्रले दूध दिन छाडेका, थुनेलो भएका, बूढा भएका र बेवारिसे भएका गाई संरक्षण गरेको छ । बूढा भएका गाई मरे केन्द्र नजिक गिद्धको आहारको लागि नगाडीकन खुला रुपमै खाल्डो नजिक राखिदिने गरेका छन् ।