• २१ असोज २०८१, सोमबार

मारवाडी सेवा भोजनालयलाई दुई लाख जरिवाना

blog

पोखराको मारवाडी सेवा भोजनालय । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, असोज २१ गते ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।

असोज २० गते आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय एकाइ, पोखरामा लागूऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसूर गरेको पाइएकाले कारबाही गरिएको प्रशासनले जनाएको छ ।

खाजाको प्याकेटमा समोसा, मिठाई, फ्रुटी खानेकुरा राख्नु भनी पेश्कीसमेत भुक्तानी भएकामा फ्रुटी तथा मिठाई नराखेको र सञ्चालकलाई कारण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको बताइएको छ ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मारवाडी सेवा भोजनालयले उपलब्ध गराएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपियाँ जरिवाना गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’’