• ११ मंसिर २०८१, मङ्गलबार

 हिमालको अध्ययन गर्न विद्यार्थीहरू थोरङ हिमचुलीमा 

blog

काठमाडौँ, असोज २१  गते । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुली आरोहण गरे । 

उनीहरुले यही  असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ जानुभएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक गेल्जे  शेर्पाले जानकारी दिनुभयो  । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह [बिएमएस] मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीहरुले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘र्यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् ।

प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना [एक्याप] को भूमिका, आरोहणको क्रममा हुने ‘बडी वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिनुभयो । आरोहणमा पेम्बासँगै अर्का प्रशिक्षक नरबहादुर अस्थानीसमेत सहभागी हुनुहुन्थ्यो ।

पिक प्रोमोसन प्रालि नामक कम्पनीले गाँसवास तथा आरोहण अनुसन्धानको व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रबन्ध निर्देशक आङबाबु शेर्पाले विद्यार्थीले गरेको यो अध्ययन आरोहण ऐतिहासिक भएको प्रतिक्रिया दिनुभयो । 

‘प्लस टु’ पछि पढ्न पाइने बिएमएस अर्थात ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीहरुले पढाइ सक्ने बित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । हाल बिएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलट अध्ययनरत छन् ।