• २० असोज २०८१, आइतबार

हेटौँडा–काठमाडौँ जोड्ने तीनवटै सडक सञ्चालन

blog

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको महालक्ष्मी खोला नजिकै सडक सुचारु भएपछि गुड्न थालेको मोटरसाइकल । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज २० गते । गत साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएको छ । 

हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार साँझबाट सञ्चालनमा आएको हो । 

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डको कुलेखानी ड्याम नजिकै रहेको पुलको पहुँच मार्ग बाढीले बगाएपछि डाइभर्सन निर्माण गरी हेटौँडालाई काठमाडौँसँग जोड्ने तीनवटै छोटो दूरीको सडकबाट सवारीका साधन सुचारु गरिएको छ । 

बाढी पहिरोले पुलसँगको पहुँच मार्ग बगाएर र कतिपय स्थानमा सडकको नामोनिसान नरहने गरी तीनवटै सडक अवरुद्ध रहेकोमा एक सातापछि सञ्चालनमा आएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले जानकारी दिनुभयो । 


पत्रकार सम्मेलनमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र मन्त्रालयका सचिव अमृत श्रेष्ठ । 

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मास्केले प्रदेश राजधानी र सङ्घीय राजधानी जोड्ने प्रादेशिक मार्गहरुमा बाढी पहिरोले ठूलो क्षति पु¥याएकोमा निरन्तरको प्रयासमा अस्थायी रुपमा सञ्चालनमा ल्याएको बताउनुभयो । 

डाइभर्सन निर्माण र सडकको तलबाट उठाएर अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो मन्त्री मास्कले भन्नुभयो, सडक सुचारु भएसँगै यात्रुलाई केही राहत मिल्ने छ । 

कुलेखानी–सिस्नेरी सडक खण्ड आइतबार दिउँसोबाट सुचारुभएको थियोे । 

महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडक खण्ड, महालक्ष्मीखोला–फाखेल–फर्पिङ र सिस्नेरी–दक्षिणकाली–फर्पिङ यसअघि नै सुचारु भइसकेको थियो । 

यस्तै, यसअघि नै थानकोट–चित्लाङ, वज्रवाराही–कुन्छाल–पालुङ हुँदै हेटौँडा त्रिभुवन राजपथ सञ्चालन हुँदै आएको थियो । 

मन्त्रालयका सचिव अमृत श्रेष्ठले सडकमा डाइभर्सन बनाएर अस्थायी रुपमा सञ्चालन गरिएको तीनवटै सडक जोखिमपूर्ण रहेकोले सावधानी अपनाउनुपर्ने बताउनुभयो । 

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले बाढी पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त बनेको कुलेखानी–सिस्नेरी सडक खण्ड खोलामा नयाँ ट्रयाक बनाएर सुचारु गरिएको बताउनुभयो ।