• २० असोज २०८१, आइतबार

‘समृद्धिको मुख्य आधार धार्मिक पर्यटन’

blog

ढोरवाराही मन्दिरको कार्यक्रममा सहभागी हुँदै मन्त्री बद्री पाण्डेलगायत ।

तनहुँ समाचारदाता

तनहुँ, असोज २० गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले धार्मिक पर्यटकीय स्थलको विकासका लागि प्राथमिकता दिएको बताउनुभएको छ । नेपालको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको र सरकारले त्यसलाई प्राथमिकता दिइएको मन्त्री पाण्डेले बताउनुभयो । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–९, ढोरवाराही मन्दिरको दर्शन तथा अवलोकन गर्दै मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । नेपाल अधिकांश पर्यटक धार्मिक क्षेत्र घुम्नका लागि आउने भएकाले धार्मिक क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उहाँको जोड थियो । 

मन्दिर दर्शनपश्चात् आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उहाँले मन्दिरको प्रोफाइल तयार पार्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ढोरवाराही मन्दिर निकै सम्भावना बोकेको धार्मिक स्थल भएको हुँदा यसको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । पर्यटकीय स्थल पोखरासँग जोडिएर रहेको धार्मिक स्थल भएको हुँदा पनि पर्यटनका हिसाबले ढोरवाराही निकै सम्भावना बोकेको स्थल भएको मन्त्री पाण्डेको भनाइ थियो । ढोरवाराही मन्दिरलाई प्रदेशको १० वटा पर्यटकीय गन्तव्यभित्र पार्न पर्यटन बोर्डलाई ध्यानाकर्षण गराउने मन्त्री पाण्डेको भनाइ थियो ।

मन्दिर परिसरमा शुक्लागण्डकी नगरपालिकाको आयोजना र ढोरेली सेवा समाज काठमाडौँको समन्वयमा ढोरवाराही मन्दिरको ऐतिहासिक तथा धार्मिक महìवको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो । मन्त्री पाण्डेसहित पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, संविधान सभा सदस्य ध्रुव वाग्ले, आशा कोइराला, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितलगायतले मन्दिर क्षेत्रको विकासमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सांसद भण्डारीले धार्मिक हिसाबले अत्यन्त ऐतिहासिक स्थल ढोरवाराही मन्दिरको प्रवर्धन गर्ने विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  त्यसका लागि सरकारले गुरुयोजनासहित यस क्षेत्रको विकास गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । 

पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारनजिकै गाछेपानीबाट सेती नदी पार गर्दै पाँच किलोमिटर दक्षिणपश्चिम यात्रा गरेपछि मन्दिरमा पुग्न सकिन्छ । मनोकाङ्क्षा पूरा हुने र मानवका पीडा तथा दुःखलाई दूर गर्ने देवीका रूपमा ढोरवारहीलाई लिने गरिन्छ । ढोरबाराही मन्दिरमा रहेको कुण्डमा पहाडको खोँचबाट बेला बेलामा आफैँ पानी आउने र बग्नेलाई दैवी शक्तिका रूपमा लिइन्छ । सयौँ वर्षदेखि ठुलो पहाडको भित्रबाट पहिरो छिचोल्दै प्रत्येक १५ मिनेटको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरको नजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ यस मन्दिरमा चल्छ ।  कुण्डमा देवीको नाउँमा बलि दिने प्रचलन परम्परागत रूपमा रहँदै आएको छ ।