• १९ असोज २०८१, शनिबार

कुलेखानी–फाखेल सडकको ट्रयाक जोडियो

छोटो दुरीको हेटौँडा–काठमाडौँ सडक आइतबारबाट सञ्चालन हुने

blog

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको महालक्ष्मी खोला नजिकै सडकको काम हुँदै ।

राममणि दाहाल

हेटौँडा, असोज १९ गते । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ । 

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो ।

एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पु¥याइएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सन बनाएर र महालक्ष्मी खोला नजिक तलबाट उठाएर सडक बनाएको उहाँको भनाइ छ । ‘‘अहिले पनि सवारी साधन चलाउन सकिन्छ तर जोखिम हुने भएकोले आइतबार साँझबाट मात्र चलाउने तयारीमा छौँ’’, उहाँले भन्नुभयो । 

हेटौँडाबाट कुलेखानी ड्यामसम्म सवारी र फाखेलबाट फर्पिङतर्फ सडक सुचारु रहेको छ । उहाँका अनुसार सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकसमेत सोमबारबाट सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । 

मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको सडक अवरुद्ध भएसँगै बागमती प्रदेश सरकारले सडक सुचारु गर्न उच्च प्राथमिकतामा राखेर कामगर्दै आएको थियो । 

दसैँ सुरु भइसकेकोले सडक सञ्चालन गर्नैपर्ने बाध्यतामा कारण पनि आइतबारबाट यातायात सुचारु गर्न लागेको निर्देशक पोखरेलले बताउनुभयो ।