• ८ चैत २०८२, आइतबार

इरानसँगको युद्ध चाँडै अन्त्य हुने सम्भावना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ८ गते । अमेरिका र इजरायलले इरानसँगको जारी युद्ध चाँडै अन्त्य हुने सम्भावना रहेको बताएका छन् । युद्ध अन्त्य गर्न चौतर्फी दबाब परेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले इरानविरुद्धको सैन्य कारबाही क्रमश : कम गर्दै जाने सङ्केत गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको हो । 

राष्ट्रपति ट्रम्पले अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान् सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।” ट्रम्पले प्रस्तुत गरेका उद्देश्यमा इरानको मिसाइल क्षमतामा क्षति पु¥याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीलाई सुरक्षा प्रदान गर्ने समावेश छ । ट्रम्पले शान्तिसम्झौता चाहँदैनन् भने पनि विपक्षीसँग संवादको विकल्प खुला राख्नुभएको छ । उहाँले पत्रकारसँग भन्नुभयो, “तपाईं शान्ति सम्झौतामा जान सक्नु हुन्छ तर म शान्तिसम्झौता गर्न चाहन्नँ । जब तपाईं अर्को पक्षलाई पूर्ण रूपमा नष्ट गर्दै हुनुहुन्छ, तब यो सम्भव हुँदैन ।” राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको र सबै स्तरमा नेताहरू मारिएका बताउनुभयो ।

अस्थायी रूपमा प्रतिबन्ध हटाइयो

हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले आवश्यक परे अमेरिकाले सहयोग गर्ने स्पष्ट गर्नुभयो । 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ढुवानीमा अवरोध, तेल मूल्यवृद्धि र आर्थिक प्रभाव देखिएको छ । ऊर्जा बजारमा जारी युद्धको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा अमेरिकाले समुद्रमा पहिले नै रहेको इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । मार्च २० तारिखअघि पानीजहाजहरूमा लोड गरिएको तेलमा ३० दिनको फुकुवा लागु हुने छ ।

अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टका अनुसार त्यसले विश्वबजारमा १४ करोड ब्यारेल तेल ल्याउने छ । यसअघि नै अमेरिकाले समुद्रमा रहेका रुसी तेलमाथिको प्रतिबन्ध हटाएको थियो । यो कदमले विश्वबजारमा तेलको आपूर्ति केही सहज हुने अपेक्षा गरिएको छ । 

बेलायतको सैन्य सहयोग

बेलायतले अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले वक्तव्य सार्वजनिक गरी जानकारी दिएको हो ।

वक्तव्य अनुसार हर्मुज क्षेत्रमा जहाजलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमता कमजोर बनाउन यस्तो कदम चालिएको हो । साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ ।