• १९ असोज २०८१, शनिबार

दसैँअघि बिपी राजमार्ग खुलाउन गाह्रो

blog

बाढीबाट क्षति पुगेको बिपी राजमार्ग अन्तर्गत चौकीडाँडाको सडक । तस्बिर सौजन्य : विनोद न्यौपाने

केदार तिमल्सिना 

बनेपा, असोज १९ गते । गत शनिबारको बाढीका कारण क्षति भएको बिपी राजमार्गमा सडक डाइभर्सन गर्न समस्या देखिएपछि दसैँअघि राजमार्ग सञ्चालन हुनेमा अन्योल देखिएको छ । रोसीखोलामा आएको बाढीपछि खोलाको बहाब कम नभएका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका र रोसी गाउँपालिकाको सिमाना चौकीडाँडाबाट सडक डाइभर्सन गर्दै अघि बढ्नै समस्या भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।  

बिपी राजमार्ग दसैँअघि सञ्चालन हुने वा नहुने भन्ने कुरामा मध्य तथा पूर्वी जिल्लाका नागरिकको चासो रहँदै आएको छ । चौकीडाँडाबाट सडक डाइभर्सन गर्न समस्या देखिएसँगै बिपी राजमार्ग सञ्चालन हुने आशङ्का पैदा भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले रोसीखोलामा पानीको बहाब नघटेका कारण चौकीडाँडाबाट डाइभर्सन गरेर अघि बढ्न समस्या भएको बताउनुभयो । सिडिई योगेशले भन्नुभयो, “बुधबार चौकीडाँडाबाट रोसीखोला किनारसम्म जाने डाइभर्सन तयार ग-यौँ, खोलामा पानीको बहाब नघटेका कारण मेसिनहरू खोला तार्न सकिएको छैन । खोलाको बहाब नघटेका कारण दसैँअघि सडक सञ्चालन गर्न सकिएला जस्तो छैन । तैपनि हामीले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेका छौँ । अहिले हाम्रो ध्यान अवरुद्ध सडक खोल्नेतर्फ नै गएको छ ।” उहाँले बाढीबाट क्षति भएको चौकीडाँडामा खोलासमेत सडकतर्फबाटै बगेकाले ह्युमपाइप राखेर डाइभर्सन गर्नसमेत सम्भावना नरहेकाले डाइभर्सनअघि रोसीखोलाको धार परिवर्तन गरी खोलालाई दक्षिणतर्फबाट बगाउनुपर्ने बताउनुभयो ।

डिभिजन प्रमुख सिडिई योगेशले बाढीबाट करिब दुई सय मिटर सडक क्षति भएको चौकीडाँडामा सडकको उचाइ खोलाबाट धेरै माथि भएकाले सडकको भित्तोबाट ट्र्याक बनाउन सम्भवना नभएको बताउनुभयो । “राजमार्ग सञ्चालनका लागि खोलाबाट डाइभर्सन बनाउनुको अन्य कुनै विकल्प देखिँदैन, सडक क्षति भएको स्थानको भित्तो खनेर ट्र्याक बनाउने अवस्था पनि छैन । नेपालथोकतर्फ खोला र सडकको उचाइ कम भएकाले डाइभर्सन बनाउन सहज छ । चौकीडाँडातर्फ खोला र सडकको उचाइ धेरै भएकाले काम गर्न समस्या देखिएको छ,” उहाँले थप्नुभयो । 

डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडक भएको स्थानमा डाइभर्सन बनाउन  नेपालथोकतर्फबाट छ वटा, मङ्गलटारमा दुई, चौकीडाँडामा दुई वटा डोजरलगायतका उपकरण परिचालन भएको जनाएको छ । खोलाको बहाब कम नभएकाले पाँच वटा मेसिनले भकुन्डेदेखि धुलिखेलसम्म दुवै लेन सडक खुलाउन बाटोको हिलो, पहिरो पन्छाउने काम गर्ने बताउनुभयो । सडक खुलाउन बिहीबारबाट थप दुई वटा मेसिन परिचालन गरिएको जनाइएको छ ।

रोसीखोलामा आएको बाढीका कारण बिपी राजमार्गको चौकीडाँडादेखि काभ्रेपलाञ्चोकको सीमा क्षेत्रसम्मको २१ किलोमिटर सडकखण्डको १४ वटा स्थानमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ । बाढीबाट बिपी राजमार्ग अन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुन्जेमा पाँच सय मिटर, चार सय बेँसीमा पाँच सय मिटर, नार्केमा दुई सय मिटर, पिन्थलीबेँसीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको सिडिई योगेशले बताउनुभयो । त्यस्तै बिपी राजमार्गकै भ्याकुरेखोला कालढुङ्गामा सात सय मिटर, डालाबेँसीमा आठ सय मिटर, पिप्लेका दुई स्थानमा गरी सात सय मिटर, माम्ती चालिसेमा चार सय मिटर र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ ।