• १९ असोज २०८१, शनिबार

‘एउटा मायी नगरमा’ क्षितिज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । प्रेम, अध्यात्म, दर्शन, इतिहास, संस्कृतिलाई कवितामा मौलिक विम्बसाथ प्रस्तुत गर्ने कवि तथा गीतकार रमेश क्षितिजको पहिलो आख्यान कृति ‘एउटा मायी नगरमा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । सो पुस्तक लेखक क्षितिजका पिता रविन्द्रराज न्यौपानेले सार्वजनिक गर्नुभएको हो । आख्यानकार कुमार नगरकोटीले उम्दा कविका रूपमा परिचित क्षितिजले आख्यानमा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गरेको चर्चा गर्नुभयो । 

उहाँले शैली, शिल्प र कथा बुन्ने ढङ्गका हिसाबले समेत आख्यान कृति फरक रूपमा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कथाकार क्षितिजले ८० को दशकमा नेपाली कथा लेखनको नयाँ क्षितिज खोलेका छन् । जहाँबाट कथा आख्यानको पृथक्, सुन्दर, स्वर्णिम र अलौकिक संसार चियाउन सकिने छ ।” लेखक क्षितिजले कवितामा नअटेका, गीत र संस्मरणमा नसमेटिएका, भनिसक्दा पनि भन्न बाँकी, लेखिसक्दा पनि लेख्न बाँकी, कहिल्यै अन्त्य नहुने बाटो जस्तो अक्षरयात्रा गर्दै कथा यात्रा सुरु भएको बताउनुभयो ।

सरकारी सेवाका क्रममा भेटिएका पात्र, प्रवृत्ति, घटनालाई आख्यानको मूल विषयवस्तु बनाइएका छन् । आख्यान शैली, शिल्प र संरचनाका हिसाबले समेत पृथक् स्वाद पाठकले पाउन सक्ने लेखक क्षितिजको धारणा छ । कवि क्षितिजका अर्को साँझ पर्खेर साँझमा (२०५७), आफैँ आफ्नो साथी भएँ (गीतिकविता २०६३), क्षितिज (गीतिएल्बम २०६८), घर फर्किएको मानिस (२०६९), पर्वत पर्वतमा बटुवा घाम (२०७९) प्रकाशित छन् । सो कृतिलाई बुकहिलले प्रकाशन गरेको हो ।