• १८ असोज २०८१, शुक्रबार

अनुमतिबिनै चलेका अटो रिक्सा नियन्त्रणमा

blog

नगरपालिकाले नियन्त्रणमा लिएका अटो रिक्साहरु । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असोज १८ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले अनुमतिबिनै सञ्चालन भएका अटो तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ । नगरपालिकाका विभिन्न क्षेत्रमा दर्ताबिनै चलेका १० वटा अटो रिक्सा नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरीका अनुसार कार्यालयले प्रकाशन गरेको सूचनाको बेवास्ता गर्दै सञ्चालन गरेका अटो नियन्त्रणमा लिइएको हो ।  नगर प्रहरी सहायक निरीक्षक उमेश केसीको नेतृत्वमा खटिएको नगर प्रहरीको टोलीले वडा नम्वर १ र ५ को बागबजार, वडा नम्बर ४ को सोलाबाङ, वडा नम्बर ३ को छिवाङ, वडा नम्बर ६ को झुल्खेत बजारलगायतका क्षेत्रबाट अटो रिक्सा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोहरु बारेमा कारबाही गर्ने वा छोड्ने भन्ने बारेमा भने नगरपालिकाले टुङ्गो लगाएको छैन ।

हालसम्म नगरपालिकाले ५२ वटा अटोलाई मात्र सञ्चालनको अनुमति दिएको छ । सानो बजार क्षेत्र, पार्किङको समस्या, तोकिएको सङ्ख्या पूरा भएको लगायतका कारण नयाँ रिक्सा दर्ता नहुने भनेर गत भदौ २८ गतेका दिन नगरपालिकाले एक सार्वजनिक सूचना निकालेको थियो । सूचनाको बेवास्ता गर्दै केही रिक्सा नयाँ ल्याएको र केही दर्ता बिनै सञ्चालन भएकोले नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले अर्को व्यवस्था तथा निर्णय नभएसम्मका लागि नयाँ रिक्सा दर्ताको काम रोकिएको जनाएको छ । अटो चालकहरुले भने लगानी गरेर स्वरोजगार बन्न पाउनुपर्ने बेला स्थानीय तहले अवरोध गरेको जनाएका छन् । 

नगरपालिकाले नयाँ रिक्सा दर्ता तथा सञ्चालन अनुमतिका लागि दश हजार र नवीकरणका लागि सात हजार रुपियाँ राजस्व लिने गरेको छ । भिरालो भूभाग, क्षमताभन्दा बढी यात्रु बोक्ने गलत काम, तीव्र गति लगायतका कारण यस क्षेत्रमा अटो रिक्सा दुर्घटनाको जोखिम छ । यस विषयमा नगरपालिकाले विभिन्न समयमा सूचना जारी गर्नुका साथै छड्के निरीक्षण पनि गर्ने गरेको जनाएको छ । अटो सञ्चालनपछि जिल्ला सदरमुकाम, खलङ्गा बजार, पालिकाको केन्द्रमा आउजाउ गर्न भने सहज भएको छ । यसका साथै बिरामीहरुलाई अस्पताल आउजाउ गर्न र अन्य सर्वसाधारणलाई सामान ओसारपारमा सघाउ पुगेको बताइन्छ ।