• ८ वैशाख २०८१, शनिबार

स्थगितमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु

blog

तस्बिर : शरण हुमागाईं

केदार तिमल्सिना
बनेपा, वैशाख ३० गते । 
राजनीतिक दलहरुबीच भएको विवादका कारण मतदान स्थगित भएका काभ्रेका चार मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार स्थानीय स्तरमा रहेका राजनीतिक दलहरुबीच सहमति भएपछि तीन मतदान केन्द्रमा निर्वाचन सुरु भएको हो ।

काभ्रेमा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले राजनीतिक दलहरुबीच सामान्य कुरामा भएको विवादका कारण रोकिएका तीन मतदान केन्द्रमा मतदान पुनः सुरु भएको बताउनुभयो ।

उहाँले जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि, तेमालको वडा नम्बर–७ स्थित भुमेश्वर आधारभूत विद्यालय र तेमालकै वडा नम्बर–९ स्थित कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु भएको बताउनुभयो । उहाँले विवादका कारण मतदान स्थगित भएको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि केन्द्रमा स्थगित भएको मतदान भने सुरु हुन नसकेको बताउनुभयो । एक राजनीतिक दलले अर्कोलाई दोषारोपण गरेका कारण दलहरुबीच छलफल हुन नसकेको बताउनुभयो ।

उहाँले मतदान सुचारु गर्ने प्रयास भइरहेप नि यदि सुचारु हुन नसकेको खण्डमा मतदानको अर्को मितिसमेत तोक्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले पाँच बजेभित्र मतदान केन्द्र परिसरमा प्रवेश गरेका मतदाताले ढुक्क भएर मतदान गर्न पाउने बताउनुभयो ।