• ११ पुस २०८१, बिहिबार

मृत्युको बाटो (कथा)

blog

मैले आज बाको अनुहार राम्ररी नियालेँ । 

बाको अनुहारलाई मैले यति नजिकबाट कहिल्यै नियालेको थिइनँ । बाआमाकै हात समातेर थिरथिर गर्दै हिँड्न सिकेको मैले आफ्नै उमेरले आधा शतक पार गर्न लाग्दा पनि बाआमालाई आजसम्म नजिकबाट किन नियाल्न सकिनँ ? आज आफैँलाई प्रश्न गर्न मन लागिरहेको छ । आज पनि सायद नियाल्ने थिइनँ होला, यदि गेद्दाले मेरा बाका बारेमा अप्रिय टिप्पणी नगरेको भए ।

हुन त उसले मेरा बाप्रति प्रेम र सहानुभूति राखेरै ती वाक्य बोलेको हो । बाको उमेर, बाको स्वभाव र बाका कर्महरूमा आएका परिवर्तनलाई लक्षित गरेर उसले आफ्नो धारणा मसमक्ष राखेको हो तर ती वाक्यले मलाई यति व्यथित बनाए कि म त्यसको वर्णन गर्न सक्दिनँ । मनमा उठेका तरङ्गहरूलाई शब्दमा अभिव्यक्त गर्न नसकिँदो रहेछ । 

उसका शब्दले मलाई शरीरमा शक्तिशाली विद्युतीय झट्का प्रवाह भए झैँ अनुभव भयो । 

“हिजोआज बाको अनुहार निकै मलिन देख्छु, किन बालाई सञ्चो छैन र ?” गेद्दालेमसँग सोधेको थियो । 

“ठिकै छ, सञ्चै हुनुहुन्छ,” मैले उसलाई जबाफ दिएको थिएँ । 

“सबैसँग हाँसेर बोल्ने मान्छे, हिजोआज त बाटोमा कतै भेट भए पनि त्यति बोल्नुहुन्न । आफैँसँग कुरा गर्दै हिँडिरहे जस्तो देख्छु । अँ साँच्चै अहिले बा कति वर्ष पुग्नुभयो रे ?” उसको प्रश्न अझै सकिएको थिएन । 

मेरा बाका बारेमा ऊ गहिरो अभिरुचि प्रकट गरिरहेको थियो ।

“त्यस्तो त केही समस्या छैन, अलि अलि ढाड दुख्ने समस्या पहिलेदेखिकै हो । अब बुढेसकाल लागेर पनि होला एकपछि अर्को सानातिना स्वास्थ्य समस्या थपिँदै गएका छन्, यो समयमा मनमा अनेक कुरा खेल्दा हुन्,” मैले भनेको थिएँ, “यो असारदेखि बा ७२ पुगेर ७३ वर्ष लाग्नुभयो ।” 

“दुई÷चार महिनायता तिम्रा बा निकै फेरिनुभएको छ, शरीर पनि गल्दै गएको छ । बुढा एकोहोरिएको मात्र देख्छु,’ उसले अन्त्यमा गम्भीर हुँदै भनेको थियो, ‘ख्याल गर है, बुढा अब धेरै बाँच्लान् जस्तो लाग्दैन मलाई त ।”

उसको अन्तिम वाक्यले मलाई भित्रैदेखि हल्लाइदियो । म खङ्ग्रङ्ग भएँ । “...बूढा अब धेरै बाँच्लान् जस्तो लाग्दैन...” घण्टीको लामो ध्वनि तरङ्ग झैँ उसको यही वाक्य मेरो कानमा तरङ्गित भइरह्यो । 

मेरो अवस्था एकाएक बादलले छोपिएको घामपछिको मौसम जस्तो हुन पुग्यो । म केही बोल्नै सकिनँ । उसको एउटै वाक्यले मलाई मौन बनाइदिएको थियो ।

बाको अनुहार एक्कासि मेरा आँखामा नाच्न थाल्यो । बाका कर्म र अवस्थाहरू मेरो मन मस्तिष्कमा घुम्न थाले । 

मलाई लाग्थ्यो, मेरा बा जस्तो बलियो यो दुनियाँमा कोही छैन । बा जस्तासुकै बलका काम गर्न सक्नुहुन्थ्यो । ठुला ठुला मुढा उठाउनेदेखि दिनभरि बन्चरो खेलाउनेसम्म बाका लागि सामान्य काम थिए । बुढ्यौली उमेरमा पनि बाले फरुवा खेलाएको देखेर बलियाबाङ्गा मानिसहरूसमेत छक्क पर्थे ।

मेरो नजरमा मात्र होइन, छिमेकी र अन्य आफन्तका नजरमा पनि मेरा बा निरोगी र बलियो हुनुहुन्थ्यो । यो उमेरमा पनि बा कुनै औषधी सेवन गर्नुहुन्न ।  

म सम्झन्छु, उमेरमा बाले एक्लै दुई वटा काठैकाठका घर बनाउनुभएको थियो । घरमा सिङ्गै रुखका खाँबा थिए । जसलाई बाले एक्लै वनबाट काटेर ल्याउनुभएको थियो ।

अहिले पनि बा आफैँ खेती लगाउनुहुन्छ । भकारो सोहोर्ने, दुध दुहुने, गाई चराउने, घाँस काट्नेलगायतका सबै काम बा आफैँ गर्नुहुन्छ । अहिले पनि हामीले चलाएको बन्चरो र फरुवामा बा विश्वास गर्नुहुन्न । “खै ले,” कहिलेकाहीँ हामीले बन्चरो वा फरुवा चलाएको देखेपछि बा भन्नुहुन्छ, “यत्रो भएर पनि अहिलेसम्म मेसोसित काम गर्न आउँदैन ।” 

नियमित शारीरिक श्रम, सन्तुलित आहार विहार र सन्तुलित विचार बाको स्वास्थ्यका बलिया आधार हुन् । बा कहिल्यै अरूको आस गर्नुहुन्न । लोभ भन्ने कुरा पनि बालाई कहिल्यै भएन । त्यसैले पनि मेरा बा आफ्नो पूरै आयु बाँच्नुहुन्छ भन्ने कुरामा म ढुक्क छु । तर आज गेद्दाका भनाइले मलाई एकाएक आफ्नो पूर्वधारणाप्रति केही विचलित गराइदिएको छ । 

मलाई कतिबेला बालाई भेटौँ झैँ हुन थाल्यो । हुन त भर्खरै म मूलघरबाटै बाआमालाई भेटेरै आएको थिएँ तर पनि फेरि गएर बालाई भेटेर मन खोलेर कुरा गर्ने उत्कण्ठा जागेर आयो । 

दिनभरि नै म ‘मुडअफ’ भएँ । मलाई बाकै बारेको चिन्ताले सताइरह्यो । के साँच्चै गेद्दाले भने झैँ मेरा बा गल्दै जानुभएको हो त ? बाको आयु के अब सकिँदै गएको हो त ? के मेरा बा अब धेरै बाँच्नुहुन्न त ? उसले मेरा बाबारे कसरी यस्तो अनुभूति गर्न सक्यो ?

बा, आमा वा प्रिय आफन्तहरूको मृत्यु कल्पना मैले कहिल्यै गरिनँ । सायद कसैले पनि आफ्ना प्यारा आफन्तहरूका बारेमा यस्तो कल्पना गर्दैनन् । यदाकदा मनमा यस्ता भावहरू उत्पन्न भए पनि तिनलाई म जतिसक्दो चाँडो मनबाट लखेटेर पठाउँथेँ ।

म साँझपख फेरि बाआमा भएको ठाउँमा गएँ । बा पिँढीमै बेन्चमा बसिरहनुभएको रहेछ, कसैलाई कुरिरहे जस्तो । बालाई देख्नेबित्तिकै मेरो मन भक्कानियो ।

“बा !” मैले बोलाएँ । मेरो गला अवरुद्ध भए झैँ भयो ।

मलाई देख्नेबित्तिकै बाको अनुहार केही उज्यालियो ।

“ए... ! आज तिमी कोहलपुर गइनौ ?” बाले भन्नुभयो । बाले प्रायः हामी छोराछोरीलाई तँ भनेरै सम्बोधन गर्नुभयो तर बा जब अति स्नेहिल बन्नुहुन्थ्यो तब हामीलाई यस्तै विपरीतलिङ्गी आदरार्थी सम्बोधन गर्नुहुन्थ्यो ।

“नाइ, आज जान मनै लागेन,” मैले यत्ति भनेँ । म बिहान मात्र मूल घरमा गएको थिएँ । आमाले पकाएको भात खाएर त्यतैबाट अफिस जान्छु भन्दै निस्किएको थिएँ तर बेलुकी टुप्लुक्कै घरमै देख्दा बालाई आश्चर्य लाग्नु स्वाभाविकै थियो ।

म बाको सम्मुख कुर्सीमा बसेँ । मलाई बालाई नजिकबाट नियाल्न मन थियो । धित मरुन्जेल बालाई हेर्न मन थियो । मनमा बाबारे अनेक कुरा खेलिरहेका थिए । बाका चरणमा शिर राखेर रुन मन लाग्यो । म भावुक भएको थिएँ । बासँग दिल खोलेर कुरा गर्न मन लाग्यो तर सकिनँ । खै केले छेक्यो, छेक्यो !

बाको अनुहारमा मेरा आँखा गढे । बा कतै सुदूर अतीततिर हराए झैँ देखिनुभयो । 

बाको अनुहारमा कुनै आभा थिएन । अनुहारभरि मुजैमुजा भरिएका थिए । करिब ९५ प्रतिशत दारी, कपाल फुलिसकेका थिए । बाले दारी पनि काट्नुभएको थिएन । आँखा केही भित्र धस्सिए जस्तो लाग्यो । जिङ्ग्रिङ्ग कपाल र झुस्स उमे्रका दारीले बाको अनुहारलाई अझ बुढो र जीर्ण बनाएका थिए । 

बाको मुहारको कान्ति कतै विलुप्त भएको थियो । बालाई मैले यति गलित र थकित कहिल्यै देखेको थिइनँ ।

“बा तपाईंलाई त ठिकै छ नि ?” मैले डराई डराई सोधेँ । 

“ठिकै छ बा, किन र ?” बाले उल्टै मलाई प्रश्न तेस्र्याउनुभयो । 

“हैन, त्यसै...,” मलाई मनको कुरा बोल्ने हिम्मत भएन । बरु प्रसङ्गलाई अन्यत्र मोड्दै भनेँ, “कस्तो बिरामी जस्तै देखिनुभएको । यी दारी कपाल पनि काटे त हुने नि !”

“हो के रे,” बाले मुहारमा उपेक्षा भाव झल्काउँदै भन्नुभयो, “कहाँ जानु छ र दारी कपाल गर्नुप¥यो ।” 

बा केही सोचमग्न देखिनुभयो ।

अचेल बाका मनमा कस्ता कुरा खेल्दा हुन् ! हाम्रा बारेमा बा के सोच्नुहुन्छ होला ! अहिले बा के सोचिरहनुभएको होला ! मेरो मनमा भने यस्तै यस्तै सोचाइ आइरहेका थिए । 

बा के सोचिरहनुभएको छ भन्ने मलाई थाहा नभए जस्तै म यति बेला के सोचिरहेको छु भन्ने बालाई पनि त थाहा छैन । मैले बाका बारेमा सोचिरहे जस्तै बाले पनि हामी सन्ततिकै बारेमा पो सोचिरहनुभएको छ कि !

बाले हामीसँग कहिल्यै कुनै कुरामा गुनासो गर्नुभएन । कुनै कुरामा अड्चन पनि थाप्नुभएन । सानोको कुरा बेग्लै हो तर बुझ्ने भएदेखि बा हाम्रा कुनै पनि काममा बाधक बन्न चाहनुभएन ।

समाजमा चाहे जस्तो पारिवारिक स्थिति कायम गर्न नसक्दा पनि अहिले पनि हामीसँग उहाँको कुनै गुनासो छैन । 

मलाई थाहा छ, बा हिजो जस्तो शक्तिशाली हुनुहुन्न । समयले उहाँबाट धेरै कुरा खोस्दै लगेको छ । शरीरमा तागत कम भएको छ । उमेर बढ्दै गएर शरीर कमजोर भएपछि अवश्य पनि त्यसले आत्मबल पनि कमजोर बनाएको छ । त्यसमाथि आफ्ना सन्तानबाट प्राप्त हुनुपर्ने सबैखाले खुसी नमिलेपछि त्यसले पनि पक्कै बालाई केही निराश अवश्य बनाएको छ तर पनि गेद्दाले भने झैँ मेरा बाको मृत्यु सन्निकट रहेको कुरा मान्न मेरो मन अझै तयार छैन ।

बासँग मन खोलेर धेरै कुरा गर्न मन थियो तर सकिनँ । भावनामा बहकिएर कुरा गर्दा बालाई अन्यथा पो लाग्ने हो कि ! मनमा दुविधा भइरह्यो ।

भन्छन्, जो मानिस शब्दले अभिव्यक्त हुन सक्दैन ऊ आँसुमा चाँडो अभिव्यक्त हुन्छ रे ! यो कति पटक मैले पनि अनुभूत गरेको कुरा हो । अहिले पनि मलाई आँसु रोक्न मुस्किल भइरहेको थियो । त्यसैले म उठेर कोठाभित्र छिरेँ । 

कहिलेकाहीँ मानिसले बोलेका वाक्यहरू कसरी मनभित्र गढेर बस्छन् थाहै हुँदैन । भन्नेलाई केही भने जस्तो लाग्दैन तर सुन्नेका लागि ती जीवनभरिका लागि जेहनमा गढेर बस्छन् । बिर्सनै नसक्ने गरी ती मुुटुभित्र कतै छापिन्छन् । गेद्दाले सामान्य रूपमा जे भनिदियो त्यो मेरा लागि सामान्य बन्न सकिरहेको छैन । 

बालाई देख्दा वा बालाई सम्झिँदा पनि मेरो कानमा गेद्दाका तिनै वाक्य गुन्जिरहेका छन् । र म, निरन्तर अपराध बोधले ग्रसित भइरहेको छु, कतै हाम्रै कारणले बाको अवस्था यस्तो भएको त होइन !

मलाई अहिले भर्खरै जस्तो लाग्छ, बाले छ वर्षअघि बोलेका ती वाक्य । 

हजुरआमाको अन्तिम संस्कार गरेर घर फर्किएपछि हजुरआमाको तस्बिर हेरेर रुन्चे अनुहार पार्दै बाले भन्नुभएको थियो, “आमा ! तपाईंले पनि अब मलाई पालो दिएर जानुभयो । अब मेरो पनि बाँच्ने समय कति नै होला र !” त्यतिबेला पनि म झसङ्ग भएको थिएँ । मृत्युबारे बाले कति गहिराइबाट यी शब्द बोल्नुभएको थियो, म अनुभूत गरिरहेको थिएँ ।

बा परिवारको जेठो सन्तान । हजुरबा पहिले नै गइसक्नुभएको थियो । लामो समय हजुरआमा आफ्नो परिवारका लागि मृत्युको बाटो छेकेर बस्नुभयो । अन्ततः उहाँले पनि सक्नुभएन । एक दिन उहाँलाई पनि जानै प¥यो । आखिर एक दिन जानु त सबैलाई पर्छ नै ।

मेरा बा मात्र होइन, म र मेरो छोराले पनि एक दिन त्यो बाटो समात्नै पर्छ । अजम्बरी कोही छैन, हामी पनि छैनौँ ।

मृत्यु कतिबेला कसको भागमा पर्छ, त्यो त कसलाई थाहा हुन्छ र ! तै पनि हामी उमेर अनुसारको मृत्युको हिसाब लगाउँछौँ । उमेर पुगेर भएको मृत्युलाई चित्त बुझाउने एउटा बलियो आधार मान्छौँ ।

मेरा बा र हजुरआमा जस्तै सबै बाआमाहरू आफ्ना सन्तानको मृत्युको बाटो छेक्न चाहन्छन् । मृत्यु मार्गमा आफू अगाडि लागेर सन्तानको रक्षा गर्न चाहन्छन् तर कतिपय अभागी बाआमाहरू असमर्थ हुन्छन् । 

मृत्युको बाटोमा आफूभन्दा अघि आफ्ना सन्तानलाई लगाएर उनीहरू पीडा बाँच्न बाध्य हुन्छन् । मृत्यु मार्गमा आफूभन्दा अघि सन्तानलाई पठाएर आफू बाँच्नुको पीडा संसारको सबैभन्दा ठुलो पीडा हँुदो हो । 

उमेरजन्य हिसाबले पालो अब बाकै थियो । सायद यही कुरालाई अनुभूत गरेर नै बाले यो  वाक्य बोल्नुभएको थियो तर हाम्रा लागि यो निकै अप्रिय र असह्य कुरा थियो ।

अहिले फेरि मृत्युलाई लिएर त्यस्तै वाक्य गेद्दाले बोलेको छ, जुन मेरो मनलाई हलचल गराउनका लागि पर्याप्त भइदिएको छ । 

अनुभूति भन्ने कुरा कति शक्तिशाली रहेछ ! अनुभूति नगर्ने हो भने हज्जारौँ मृत्युहरूले पनि हामीलाई छुन सक्दैनन् तर यदि अनुभूति गर्ने हो भने मृत्यु कल्पनाले मात्र पनि हामीलाई जरैदेखि हल्लाइदिन सक्छ । जसरी आज मलाई हल्लाइरहेको छ । दुःख, सुख, डर, त्रास, हाँसो, रोदन, करुणा, घृणा भन्ने कुरा त आखिर अनुभूतिकै उपज त रहेछन् !

गेद्दाले मेरा बाका बारे कति गहिरो अनुभूति गरेको रहेछ ! जुन आजसम्म मैले समेत गर्न सकेको थिइनँ ।

हो, बाआमाको अवस्थादेखि म बेखबर छैन । बाआमा व्रmमशः बुढ्यौलीतिर मात्र लागिरहनुभएको छैन, विभिन्न रोगहरूबाट समेत ग्रसित हुँदै जानुभएको छ । 

आफैँलाई भित्रभित्रै खियाउँदै बाँचिरहनुभएको छ । 

जीवनको डोरी कहाँ अल्झिएर च्वाट्ट चुँडिन्छ, थाहा छैन । 

बाआमा अहिले पनि मूल घरमा दुई जना मात्र बस्नुहुन्छ, जुन बाआमा जस्तै जीर्ण बन्दै गएको छ । हामी आआफ्ना घर बनाएर बसेका छौँ । बाआमासँगै बस्ने भन्दै गाउँ फर्किएको म विविध कारणले बाआमासँग बस्न पाइनँ । 

बाआमालाई आफ्नो घरमा लैजाने मेरो प्रयास पनि कहिल्यै सफल भएन । बाआमा अनेकौँ समस्या सहेरै भए पनि बुढ्यौली घर छोड्न मान्नुहुन्न ।

हामी सन्तानले बाआमालाई आआफ्ना घरमा लैजान लाख कोसिस ग¥यौँ तर उहाँहरूले कहिल्यै मान्नु भएन । “भो छोड्देऊ बाबु हो,” बाआमा भन्नुहुन्छ, “हामी हात, खुट्टा चलुन्जेल अब यहाँबाट कतै जान्नौँ । तिमीहरू जाओ ।” 

हामीसँग छेलोखेलो भौतिक सम्पत्ति नभए पनि प्रकृति वा भगवान्को असीम अनुकम्पा छ । अहिलेसम्म भगवान् वा प्रकृति दाहिना भएकैले होला कुनै दैवी वा प्राकृतिक विपत्तिको सामना हामीले गर्नुपरेको छैन । बाआमाका जैविक सम्पत्तिका रूपमा हामी छोरा, बुहारी, नातिनातिना सबै छौँ । सानातिना कर्र्म गरेर जीवन गुजारा गरिरहेका छौँ । आर्थिक महìवाकाङ्क्षा हाम्रो जिनमै थिएन सायद । त्यसैले त हजुरबा भन्नुहुन्थ्यो– “श्रीमती सुमर्न सक्ने र सम्पत्ति ततेर्न सक्ने जति मात्र हुनु पर्छ ।”

बाआमाका लागि सन्तान कर्तव्य र दायित्व मात्र होइन, अधिकार पनि हुनुपर्ने हो तर खै किन बाआमाहरू सन्तानप्रति अधिकार जमाउन चाहँदैनन् । आफू अन्धकारमै बसेर भए पनि सन्तानको उज्यालो भविष्यको कामना गर्छन् ।  

आफैँले जन्माएका र हुर्काएका सन्तानसँग बाआमाले आफ्नो अधिकार लडेर लिनुपर्ने हो तर बाआमा सन्तानसँग लड्न सक्दैनन् ! लडे पनि जित्न चाहँदैनन् । सन्तानका लागि उनीहरूसँग मात्र हार हुन्छ । 

हजुरआमाले आफ्ना सन्तानका लागि लामो समय मृत्युको बाटो छेके झैँ मेरा बाआमा अहिले हामीहरूको मृत्युको बाटो छेकेर बसिरहनुभएको छ । थाहा छैन बाआमा हाम्रा लागि कहिलेसम्म मृत्युको बाटो छेक्न सक्नुहुन्छ !  मधुपर्क