• ८ मंसिर २०८१, शनिबार

सत्यका भ्रान्तिहरू (नाटक)

blog

खुला तर व्यस्त सडक । एक मानिस मेचमा बसेका छन् । उनले आँखामा कालो चस्मा लगाएका छन् भने नजिकै एउटा सेतो लट्ठी पनि राखिएको छ । साथैमा एउटा सानो स्पिकर पनि छ । मानिसले दायाँ हातमा माइक समातेका छन्  । स्पिकरमा बजेको गीतको तालसँगै उनी गीत गाउन थाल्छन् । गीत सुरु हुन थालेपछि एक दुई गरी मानिसहरूको भिड हुन थाल्छ । ती मानिसलाई बिचमा पारेर दर्शकहरू आफसेआफ चारैतिर घेरेर बस्छन् । यस कुराप्रति त्यो मानिस बेपर्वाह देखिन्छन् । एकै छिनमा गीत सकिन्छ । दर्शकहरू आआफ्नो गच्छे अनुसार उनको अगाडि रुपियाँ राखिदिन थाल्छन्् । यो देखेर ती मानिस जुरुक्क उठ्छन् । 


मानिस १ ः (आश्चर्यचकित पर्दै) के गर्नुभएको यो ?

दर्शक १ ः (उस्तै सहज भावमा) के गर्नु ? ....हजुर मागेर बस्नुभएको होइन, पैसा दिँदै छौँ । तपाईं त झन् खुसी हुनुपर्ने होइन र !.. (भुइँतिर देखाउँदै) ल हेर्नु त, कति धेरै पैसा ? अहिले पनि मानिसमा मानवता छ । 

मानिस १ ः आँखाबाट कालो चस्मा हटाउँछन्...

दर्शक २ ः (आव्रmोशित भावमा) यो मान्छे त फटाहा रहेछ ...हेर्नुस् त यसले त देख्न सक्दो रहेछ । 

मानिस १ ः (सम्झाउने शैलीमा) त्यही त म हजुरहरूलाई सम्झाउँदै छु, म यहाँ पैसा माग्न बसेको होइन । तपाईंहरूले मलाई बोल्ने मौका नै दिनुभएन । 

दर्शक ३ ः (अचम्म मान्दै) पैसा माग्न बसेको होइन भने यहाँ खुला सडकमा किन गीत गाएर बस्नुभएको त ?

दर्शक २ ः (सहमतिका साथ) हो त नि, चोक, बजारतिर यस्तै गीत गाउँदै अशक्तहरूले सहयोग मागेर बसेका हुन्छन् । 

मानिस १ ः (स्विरोक्ति) हो, त्यो म पनि मान्छु, तर म अशक्त छैन, हेर्नुुस् म आँखाले मजाले हेर्न सक्छु, (हिँडेर देखाउँदै) म हिँड्न पनि सक्छु ।

दर्शक ३ ः (रिसाउँदै) अनि किन यसरी गीत गाएर बस्नुभएको त ? 

मानिस १ ः अहिलेको जमाना मोबाइलको जमाना हो, हामी जे देख्छौँ त्यो सबै सत्य नहुन पनि सक्छ र जसलाई यथार्थ मानेर रमाउँछौँ त्यो यथार्थमा भ्रम पनि हुन सक्छ । 

दर्शक ४ ः (कुरा नबुझेको अभिनयका साथ) यो मान्छे त बौलाहा हो कि क्या हो ? कस्तो नबुझिने कुरा गरेको ?

मानिस १ ः (दुःखी हुँदै) खै तपाईंमा धैर्यता नै छैन... पहिले मेरो कुरा त सुन्नुस् ।

भिडबाट आवाज आउँछ हो.. हो, पहिले उहाँको कुरा सुनौँ ।

भिडको अग्रपङ्क्तिमा हातमा मोबाइल लिएर बसेको एउटा मानिस २ हुन्छन् मानिस १ उनीतिर सङ्केत गर्दछन् ।

मानिस १ ः उनी मेरा साथी हुन् । ल हेर्नुस्, उनको हातमा मोबाइल छ, यही मोबाइलमा हामी यो दृश्य खिच्दै थियौँ । तपाईंहरूले सबै बिगारिदिनु भो ...

सबै दर्शकहरू खासखुस गर्दछन् । 

ल पत्याउनुभएन, (उनको हातबाट मोबाइल लिएर भिडियो देखाउँदै) ल हेर्नुुस् म सत्य बोलिरहेको छु, (उनले गीत गाइरहेको त्यो दृश्य भिडियोमा रेकर्ड भएको हुन्छ । उनी चारैतिर घुमेर त्यो भिडियो देखाउँछन्)

आजको दुनियाँ पहिलेको जस्तो कहाँ हो र ? अहिले त जे हामी देख्छौँ, त्यो यथार्थ नहुन पनि त सक्ने रहेछ ।  

दर्शक २ ः हुन त हो, अहिले त बाटोमा मानिस एक्लै बोलिरहेको र हाँसिरहेको देखेर अचम्म मान्नुपर्ने भएन, अन्यथा त्यसरी एक्लै बोल्ने र हाँस्नेलाई हाम्रो पालामा बौलाहा भनिन्थ्यो । 

दर्शक ३ ः हुन त अहिले बोल्न र रमाउन कहाँ साथी चाहिन्छ र ? मोबाइलमा संसार छ । 

एउटा अधबैँस मानिसले एउटी बुढीलाई धकेल्दै अगाडि बढ्न खोज्छन् । यसै व्रmममा त्यो बुढी हुत्तिँदै मञ्चको बिचमा पुग्छिन् । मानिस १ उनलाई समात्छन् । 

मानिस १ ः के गर्नुभएको यो ?

एक अधबैँस मानिस ः सरी, ...बुढी मानिसलाई धकेल्ने मेरो कुनै मनसाय थिएन । सरी ...

बुढी भिडमा गएर मिसिन्छिन् । 

मानिस १ ः तपाईं चाहिनेभन्दा बढी भलाद्मी देखिन खोज्नुभएको हो ?

अधबैँस मानिस ः (आव्रmोशयुक्त भावमा) यो तपाईं मलाई कस्तो आरोप लगाउँदै हुनुहुन्छ ? तपाईंले मलाई चिन्नुभएको छ ? म को हुँ ? थाहा छ ...।

मानिस १ ः  (व्यङ्ग्यात्मक शैलीमा) ल भन्नुस् न त तपाईं को हुुनुहुन्छ ? 

अधबैँस मानिस ः (घमण्डका साथ) म एक भलाद्मी नै हुँ । म ज्येष्ठ नागरिकको सम्मान गर्छु । 

मानिस १ ः ल ठिक छ, (दर्शकतिर फर्कंदै) उहाँले भन्नुभएको कुरा सबैले विश्वास गर्नुहुन्छ र गर्नु पनि पर्छ किनकि हामीले उहाँलाई चिनेका छैनौँ । त्यसै कारण उहाँले जे बताउनुहुन्छ हामीले त्यसैलाई यथार्थ मान्छौँ । ...ल एकछिनलाई त्यसैलाई यथार्थ मानौँ न त ...

अधबैँस मानिसतिर हेर्छन् ।  

तपाईंको घरमा आमाबुबा हुनुहुन्छ । 

अधबैँस मानिस ः (तत्कालै उत्तर दिन्छन्) आमा मात्र हुनुहुन्छ । 

मानिस १ ः तपाईंले उहाँको हेरविचार राम्ररी नै गर्नुभएको छ ?

अधबैँस मानिस ः (रवाफिलो उत्तर) एकदम राम्ररी गरेको छु, नपत्याए मेरा छिमेकी...

मानिस १ बिचमा कुरा काट्छन् । 

ठिक छ, हामी तपाईंको कुरा सत्य मान्छौँ ..तपाईंहरू मान्नुहुन्छ त ?

सबै दर्शक खासखुस गर्छन् । 

दर्शक ३ ः न चिन्नु न जान्नु...

मानिस १ ः अहिलेको जमानामा सबै चिनेजानेका ...यन्त्रभित्र अपरिचित भईकन पनि सबै परिचित अर्थात् यन्त्रको नजरमा कोही पनि अपरिचित हुँदैन । ल हेर्नुस् उहाँले भन्नुभएको कुरा वास्तवमा यथार्थ हो कि भ्रान्ति, यही यन्त्र अर्थात् मोबाइलले बताउँछ । 

भिडबाट आवाज आउँछ 

अब यसको फैसला हजुरले नै गरिदिनुप¥यो । तपाईं अब सूत्रधार...

मानिस १ ः (अचम्मित हुँदै) अब म सूत्रधार रे ! म भिडियोको नायकलाई अब नाटकको सूत्रधार बनाइदिनुभो । ...ल ठिकै छ ..अब म यस सन्दर्भलाई नाटकीय ढङ्गले अगाडि बढाउँछु । ..सबैले आआफ्नो मोबाइल अन गर्नुस्, मैले एउटा भिडियो सेन्ट गरेको छु ...ओपन गर्नुस् । 

सबै मोबाइल अन गरेर भिडियो हेर्छन् । 

मञ्चको बिचमा त्यही लाइभ हुन्छ । एक जना वृद्धा र एक अधबैँस मानिस ....ठिक त्यही अधबैँस मानिसको डुब्लिकेट, जसद्वारा वृद्धलाई धक्का लागेको हुन्छ ।

अधबैँस मानिस ः (अचम्मित भावमा) ए यो मानिस त हुबहु म जस्तो...मेरै डुुुब्लिकेट...पोसाक पनि ठ्याक्क मेरो जस्तै ..

दर्शक १ ः मोबाइलको भिडियाका पात्रहरू हाम्रै अगाडि प्रत्यक्ष....

वृद्धा ः (अनुनय गर्दै) छोरो ! म तिमेरूले भने झैँ बस्छु, कुनै गुनासो गर्दिनँ.... खाना पनि जस्तो खानदिन्छौँ, म त्यस्तै खान्छु.. (बिन्ती भावका साथ) छोरो ! मलाई तिमेरूले कहाँ लान खोजेका ? यहाँ नातिनातिनीसँग बस्न पाए मात्र पनि सन्तुष्ट नै छु ...।

अधबैँस मानिस :   (अलि रिसाउँदै) कहाँ लान लागेका हौँ र ? त्यही नजिकको वृद्धाश्रममा त हो नि ! बिहान र बेलुका फुर्सद भएका बेला भेट्न आउँला ...घरमा पनि तपाईं दिनभर एक्लै ...नातिनातिनी स्कुल जान्छन् ...। म र बुहारी अफिस ..हजुर एक्लै दिनभर घर ..(अलि हाँसेर फकाउँदै) त्यहाँ भए तपाईं जस्ता वृद्धवृद्धा हुन्छन् । दिनभर कुराकानी र भजनकीर्तन गरेर दिनबिताउन सहज हुन्छ । ल उठ्नुस्, हिँडौँ ..नातिनातिनी आउनुभन्दा अगाडि नै जानु पर्छ नत्र.... तिनले हजुरआमालाई कहाँ लैजान लाग्नुभो ? भनेर सोधेर हैरान पार्छन् ...

वृद्धा :   (जिज्ञासायुक्त भावमा) मेरो बारेमा सोधे के भन्छाँै त ?

अधबैँस मानिस :  (हाँसेर) तीर्थयात्राका लागि जानुभो भनौँला नि...

वृद्धा :   (हातले कानलाई छुँदै) राम !...राम !...राम !...

अधबैँस मानिस वृद्धालाई हातमा समातेर दर्शकबिच हुँदै बाहिरिन्छन् । 

सूत्रधार :   (दर्शकतिर हेर्दै) देख्नु भो यन्त्रले चिनाएको अधबैँस मानिसको परोक्ष यथार्थ..

अधबैँस मानिस :  (आफ्नो बचावट गर्दै) आमालाई वृद्धाश्रममा राख्यो भन्दैमा ...भन्दैमा ...वृद्धवृद्धालाई सम्मान गरिँदैन भन्ने हुन्छ र ? ..मैले त उहाँकै सुखको विचार गरेर वृद्धाश्रम लगेको... घरमा उहाँ दिनभर एक्लै ...

भिडबाट गललल हाँसो गुञ्जयमान हुन्छ । 

सूत्रधार :  हल्ला नगर्नुस्, यता ध्यान दिनुहोस् । .....तपाईंहरूले नै मलाई सूत्रधारको जिम्मा दिनुभएको होइन ? ...एकछिन धैर्यता गर्नुस् .....

सुनेको र देखेको कुरामा मात्र विश्वास गर्नु भन्नुहुन्थ्यो हजुरबाले तर ...

एउटी युवती एउटा युवकलाई जबरजस्ती तानेर मञ्चमा ल्याउँछिन् ।

सूत्रधार :  के भो र ? 

युवती :   तपाईंको यन्त्रलाई सोध्नुस् न (युवकलाई देखाउँदै) यिनी मेरा केटासाथी ...हामी छिट्टै विवाह गर्ने सोचमा छौँ ..अहिले लिभिङ टुगेदर ...

युवक :   (रिसाउँदै) तिमीलाई ममाथि विश्वास छैन ....किन यन्त्रलाई सोध्नुप¥यो र ? मलाई सोध न, म बताइदिइहाल्छु नि !...तिमीलाई मेरो बारेमा सबै त बताइदिइसकेँ ।

युवती :   (युवकको हात समात्दै) मैले तिम्लाई विश्वास नगरेको भए अहिल म तिम्रो साथमा कहाँ हुन्थेँ र ? ..तै पनि ...

सूत्रधार :   ल ठिकै छ, तपाईंहरू पनि इच्छुक हुनुहुन्छ नि !....

दर्शक १ :   हामी तयार छौँ ..

युवक, युवती र सूत्रधार भिडमा मिसिन्छन् । एउटी महिला ग्रामीण पहिरनका साथ मञ्चमा प्रस्तुत हुन्छिन् । उनको हातमा पनि मोबाइल छ ...मोबाइलमा कुनै मानिसको फोटो हेरेर विविध हाउभाउका साथ कुराकानी गरे झैँ अभिनय गर्छिन् । दर्शकले स्पष्ट संवाद सुन्न सक्दैनन् । हातमा मोबाइल लिएर चारैतिर घुम्छिन् । 

दर्शकको चर्काे आवाज सुनिन्छ ।

दर्शक    मोबाइलमा देखिएको फोटो अघिको युवक नै होइन र ? ...ए हो त रै’छ नि !

महिला :   (माबोइलमा फोटो हेरेर) तपाईंको फोन नआएको पनि धेरै भइसक्यो ।...(मलिन अनुहारका साथ) ...सबै भन्छन्, सहरमा गएपछि तपाईं उतै हराउनुभो रे ! पँधेरोमा सीता भन्दै थिइन्, सायद अर्कै विवाह पनि गरिसके कि ?.. म उनीसँग निकै रिसाएँ । आजसम्म बोलेकी छैन ...(हाँस्दै)  मलाई तपाईंप्रति विश्वास छ । अवश्य कुनै एक दिन हजुर फर्कनु हुनेछ... यो सिउँदोकोे सिन्दुरले मलाई कदापि धोका दिने छैन ....

(उनको बोली सुनिन छोड्छ । उनी मोबाइल हेरेर कुरा गर्दै दर्शकबिच बाहिरिन्छिन् ।)

युवती :   (रिसाउँदै) ल भन, यी महिला को हुन् ? उनको मोबाइलमा तिम्रो फोटो ? .....

युवक :   (बोली लरबरिन्छ) अहिले सोसल मिडियाको जमाना ...मेरो फोटो राम्रो लाग्यो होला, कतैबाट तान्यो होला या सेभ गरिन् होली....

युवती :   उनको गलाको पोते र सिउँदोको सिन्दुर नि !

युवक :   (अलि रिसाए झैँ गर्दै) त्यो मैले के जानूँ ? सबैको ठेक्का मैले लिएको छु र ! ...

युवती :   (रिसाउँदै) म यो कुरालाई हल्का मान्दिनँ... अब यसको अनुसन्धान गर्ने छु ....

उनी दर्शकबिच हुँदै बाहिरिन्छिन् । युवक उनको पछि पछि लाग्छन् । 

सूत्रधार :  ल हेर्नुस्, हाम्रो जीवनलाई घेरेर बसेका सत्यका भ्रान्तिहरू.....अब यहाँबाट गइसकेपछि तपाईंहरू सत्यका भ्रान्तिको निरूपण गर्नतिर लाग्नुहुन्छ होला ..... जीवनले सिर्जना गरेका सत्यका भ्रान्तिहरू ...यन्त्रले सिर्जना गरेका सत्यका भ्रान्तिहरू.... अन्य भ्रान्तिहरू... सायद जीवनको अन्तिम अवस्थासम्म...

(हाँस्दै).. हा.. हा.. हा...

ल, अब नाटक सकियो । (नमस्कार गर्दै विनम्रतापूर्वक) हजुरहरू सबैलाई धन्यवाद, मलाई सूत्रधारको भूमिका दिनुभएकामा र धैर्यतापूर्वक नाटकको दर्शक बनिदिनुभएकोमा ...धन्यवाद !  मधुपर्क