• १८ असोज २०८१, शुक्रबार

वर्षमै ६ अन्तर्राष्ट्रिय पदक

पहिलो पटक रिङमा पस्दा निकै डराएँ

blog

काठमाडौँ, असोज १८ गते । कराते खेलको चर्चाको शिखरमा हुनुहुन्छ, एरिका गुरुङ । नेपाललाई १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक जिताएपछि २० वर्षीया एरिकाको चर्चा देश विदेशमा चुलिएको हो । 

हालै चीनमा भएको २०औँ एसिएन कराते च्याम्पियनसिपमा रजत जितेर एरिकाले आफूलाई थप अब्बल खेलाडीको दर्जामा उभ्याउनुभएको छ । सिनियर  एसियन कराते च्याम्पियनसिपमा एरिकाले जितेको यो ऐतिहासिक पहिलो पदक हो । 

एकपछि अर्को इतिहास रच्न सफल एरिका नेपाली खेलकुदले पाएको सबैभन्दा उत्कृष्टमध्ये एक खेलाडी हुनुहुन्छ । गतवर्ष चीनको हाङचाउमा सम्पन्न एसियाडको व्यक्तिगत स्पर्धामा एरिकाले नेपालाई २५ वर्षपछि रजत जितेर ठूलो सफलता दिलाउनुभएको थियो । त्यसअघि नेपालले तेक्वान्दोकी सविता राजभण्डारीबाट १९९८ को बैंकक एसियाडमा रजत पदक प्राप्त गरेको थियो । 

एसियाडमा जानुअघि एरिकाले इन्डोनेसियाको जकार्तामा १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । एसियाडपछि अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पूमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल एरिकाले पछिल्लो एक वर्षका मात्र ६ वटा अन्तर्राष्ट्रिय पदक नेपाललाई दिलाउनुभएको छ । 

करातेमा एरिकाले प्राप्त गरिरहेको सफलताको राज के होला ? यस प्रश्नको उत्तर दिँदै एरिका भन्नुहुन्छ, १० वर्षको लगातार मिहेनतको प्रतिफल ।  वर्षको उमेरमा आमाको सल्लाहमा मनमैजु कराते डोजोमा कराते कला सिक्न जानुभएकी एरिकाले १९ वर्षमा पुगेर ठूला सफलता हात पार्न थालेको बताउनुभयो ।

‘‘मलाई करातेमा लाग्न सुरुमा आमाले हौसला दिनुभएको हो । करातेलाई मैले आफूलाई निरन्तर साधनाको रुपमा अँगाल्दै गएँ । मनमैजु डोजो र मेरा गुरुहरुले मलाई साथ दिँदै जानुभयो । निरन्तर प्रयास गर्दै जाँदा सफलता पाइने रहेछ,’’ एरिका भन्नुहुन्छ । 

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि एरिकाले राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भएर उपाधि जित्नुभएको थियो । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि भने एरिकाको उडान अन्तर्राष्ट्रिय स्पर्धामा पुगेको हो । एरिकाले जब अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेल्न सुरु गर्नुभयो, उहाँले अहिलेसम्म खाली हात फर्कनुपरेको छैन । 

‘‘नेपालमा पदक जितेपछि मात्र खेलाडीलाई हेर्ने गरिएको छ । तर, अहिले पहिलाभन्दा धेरै सुधार भएको छ । सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सङ्घले कुनै पनि प्रतियोगितामा लक्ष्यसहित योजना बनाउने र खेलाडीलाई तयार गर्ने हो भने नेपाली खेलाडीले पनि धेरै गर्न सक्छौँ,’’ एरिका भन्नुहुन्छ । 

नेपालमा खेलाडीको सेवा र सुविधामा पहिलाको भन्दा सुधार हुँदै गए पनि अझै पर्याप्त नभएको उहाँको बुझाई छ । नेपाल पुलिस, आर्मी, एपिएफ जस्ता विभागले खेलाडीलाई सेवा र सुविधा दिएर राखेकोले केही राम्रो भएको पनि एरिकाले बताउनुभयो । एरिका विभागीय टोली नेपाल पुलिस क्लबको खेलाडी हुनुहुन्छ । 

खेल र पढाइलाई एक साथ अगाडि बढाइरहनुभएकी एरिका एनआर कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । पढाइमा समेत अब्बल एरिकाले इच्छाशक्ति भयो भने खेल र पढाइलाई समय मिलाउन सकिने बताउनुभयो । ‘‘कहिलेकाहीँ गेम र परीक्षा एकसाथ पर्दा केही गाह्रो हुन्छ । तर कलेजबाट अफ्ठ्यारोमा सहयोग भइरहेको छ,’’ उहाँले भन्नुभयो । 

एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएर रजक जित्नुभएकी एरिकाको स्वर्ण जित्ने भोक सकिएको छैन । उहाँ  भन्नुहुन्छ, ‘‘मैले रहेक हारलाई पाठ र सिकाइको रुपमा लिने गरेको छु । चीनमा फाइनल खेल्दा सामान्य घाइते पनि थिएँ । निरन्तर लाग्दा सफलला कसो नआउला ।’’ 

एसियाली स्तरमा बलियो छाप छोड्नुभएकी एरिकाको अवको लक्ष्य वर्ल्ड च्याम्पियनसिपमा पदक जित्नु हो । उहाँ अहिले अर्को साता इटालीमा आयोजना हुने वर्ल्ड कराते च्याम्पियनसिपको तयारीमा व्यस्त हुनुहुन्छ । आम नेपालीले दशैँ मनाइरहँदा एरिकाले वर्ल्ड च्याम्पियनसिप खेल्दै हुनुहुनेछ । ‘‘हरेक खेलाडीको लक्ष्य प्रतियोगितामा पदक जित्नु हुन्छ । मैले वर्ल्ड च्याम्पियनसिपमा आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेकी छु,’’ एरिका भन्नुहुन्छ । 

नेपाली खेलकुदको रोल मोडलको रुपमा रहनुभएकी एरिकासँग उहाँको खेल जीवन, सफलता र भावी योजनाको विषयमा गोरखापत्र आनलाइनका लागि मनोजरत्न शाही र केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्री : 

यो पनि पढ्नुहोस

यो पदक देशका लागि हो : एरिका

यो पनि पढ्नुहोस

एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण र रजत पदक