• १५ असोज २०८१, मङ्गलबार

सय दिन पछि खुल्यो मनाङको पहिरोले अवरुद्ध सडक

blog

रघुगंगा गाउँपालिका–७ मनाङमा अवरुद्ध सडक खुलेपछि । तस्बिर: गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज १५ गते । रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेमङ्गले जोड्ने सडक एक सय दिन पछि खुलेको छ ।

गएको असार ८ गते वर्षा सँगै आएको पहिरोले गर्दा रघुगङ्गा गाउँपालिका–७ मनाङमा पहिरो जाँदा गलेश्वर–राखूँ हुँदै कुइनेमङ्गले जाने सडक अवरुद्ध भएको थियो । वर्षाले गर्दा लामो समयसम्म पहिरो पन्छाउन नसकेको भए पनि वर्षा कम हुन थाले पछि सडक खुलाइएको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थाकबहादुर पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार–कुइनेमङ्गले तथा चिमखोला क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग सहकार्य गरेर सडक सञ्चालन गरिएको हो । आयोजनालाई अनुरोध गरेर उनीहरूकै सामग्रीहरू प्रयोग पछि सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले सडक सञ्चालन पछि कुइनेमङ्गले क्षेत्रका बासिन्दालाई यात्रामा सहजता आएको बताउनुभयो ।  २०३६ सालमा जिल्ला विभाजन हुने समयमा तत्कालीन मुस्ताङ जिल्लामा पर्ने मङ्गलेखानी गाउँपञ्चायतला  समेत कुइनेखानीमै समेटेर कुइनेमङ्गले गाविस बनाइएको थियो । अहिले उक्त गाविसको पूरै भूभाग रघुगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा पर्ने वडा अध्यक्ष छन्त्यालको भनाई छ । मुख्य रुपमा छन्त्यालको बसोबास रहेको उक्त वडामा पुग्नका लागि उपयुक्त रहेको सडक मार्ग पनि अवरुद्ध हुँदा वडाका वासिन्दाले निकै सास्ती खेपेको उहाँको भनाइ छ ।