• २७ असोज २०८१, आइतबार

बिउ बैङ्क सञ्चालन

blog

बिउ बैङ्क तथा सङ्कलन केन्द्र भवन । तस्बिर : सङ्गीता तिमिल्सेना

बडीमालिका समाचारदाता 

बाजुरा, असोज १५ गते । स्वामिकार्तिक गाउँपालिकाको सुइजिउलामा बाजुरा जिल्लाकै पहिलो बिउ बैङ्क तथा सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । 

सामुदायिक बिउ बैङ्क तथा कृषि सहकारीको सहकार्यमा सो केन्द्र स्थापना भएको सहकारीका व्यवस्थापक मनवीर ल्वारले जानकारी दिनुभयो । केन्द्र स्थापनाका लागि सो सहकारीका सञ्चालक समितिसहित सहकारीले बचत गर्न सुरु गरेका छन् । 

सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि बचतबाट जम्मा भएको १० लाख रुपियाँ पुँजीले पालिकामा उत्पादन भएको स्याउ किसानकै बारीमा गएर खरिद गरी बाजुरा जिल्लाका विभिन्न बजार, नेपालगन्ज, धनगढी, सुर्खेत, काठमाडौँलगायतका देशका ठुला सहरमा सहकारीले बिक्री गर्दै आएको छ । 

यसरी स्याउ अन्यत्र लगेर बिक्री गरिँदा किसानलाई सहज भए पनि सहकारीलाई भने उल्टै घाटा लागेको थियो । यद्यपि सहकारी सञ्चालकले हिम्मत नहारी सहकारीमार्फत नै सामूहिक आलु खेती सुरु गरे । उत्पादित आलु बाजुराका बजार तथा नेपालगन्ज, सुर्खेतलगायतका सहरमा लगेर बिक्री गरेपछि आलु खेतीले डुबेको पुँजी उकास्न सफल भयो । 

सहकारीले कृषिसम्बन्धी विभिन्न काम गर्न थालेपछि पालिकाको कृषि विकास शाखाले पनि सो सहकारीसँग सहकार्य गर्न थालेको छ । यसै गरी गैरसरकारी संस्था जिआइजेड अन्तर्गतको ग्रेप परियोजनालाई पनि पालिकाले सहकारीसँग सहकार्य गर्न अनुरोध गरेको थियो । त्यसपछि परियोजनाले सो सहकारीले केन्द्र स्थापनाका लागि गरेका रैथाने बाली बजारीकरणमा ढुवानी अनुदान, सहकारीका सदस्यहरूलाई चार वटा कृषि समूहमा विभाजन गरेर कृषकलाई कृषि प्राविधिक परामर्श, कृषि प्रविधि, टनेल, प्लास्टिक, थोपा सिँचाइ, आवश्यक बिउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, किरा मार्ने स्प्रे, पासा, गुमोज प्लास्टिकमा सहयोग गरेको छ । 

त्यसले केन्द्र स्थापनाका लागि सहयोग पुगेको सहकारीका व्यवस्थापक मनवीरको भनाइ छ । सो बिउ बैङ्कमा अहिले जुनसुकै बेला पनि कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धानलगायतको बिउ उपलब्ध हुन्छ । सहकारीले ग्रेप परियोजनाको सहयोगमा स्वामीकार्तिकमा पाँच जना बिउ सङ्कलनकर्तालाई ज्याला दिएर राखिएको छ । सङ्कलनकर्ताले किसानको घरमै गएर खरिद गरी केन्द्रमा पु¥याउने गरेका छन् । 

सहकारीले बिउ बैङ्कको शाखा बुढीनन्दा नगरपालिकामा पनि स्थापना गरेको र त्यहाँ पनि ग्रेप परियोजनाले बिउ खरिदमा ढुवानी अनुदान दिएको छ । परियोजनाकै सहयोगमा बुढीनन्दा नगरपालिका–९ मा ढल नै बनाएर सामूहिक रैथाने बालीको खेती गरिएको छ । सो उत्पादनको खरिद र ढुवानी पनि सहकारीमार्फत नै हुने भएको छ । अहिले स्वामीकार्तिक गाउँपालिकाको कृषि नीतिमा पनि सहकारीमार्फत ढुवानी अनुदानको कुरा समेटेर केन्द्रको सहजताका लागि कृषि एम्बुलेन्स पनि खरिद गरेर काम गरिरहेको पालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । १७० सदस्य रहेको सहकारीमा एक सय जना स्वामिकार्तिक र ७० जना बुढीनन्दा नगरपालिकाका स्थानीय सदस्य छन् ।