• १४ असोज २०८१, सोमबार

मधेश सरकारद्वारा बाढीपीडितका लागि आठ करोड विनियोजन

blog

फाइल तस्बिर : रासस

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज १४ गते । मधेश प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत पीडितलाई राहत तथा पुनः स्थापना गर्नका लागि आठ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत पीडितलाई राहत तथा पुनः स्थापनाबापत प्रदेशको आठ वटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकबाट मधेशमा बाढीबाट क्षति भएको सडक पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिनुभयो । उहाँले तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण देशभरि आएको बाढी र पहिरोको प्रकोपबाट मधेश पनि अछुतो नरहेको बताउनुहुँदै मधेशको आठवटै जिल्लामा कुनै न कुनै रूपले क्षति पुर्‍याएका कारण राहत स्वरूप उक्त रकम छुट्याएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “त्यसमा पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरू पनि अति प्रभावित भएका क्षेत्र हुन् ।” 

मुख्यमन्त्री सिंहले सम्पूर्ण दातृ निकायहरूलाई राहतका लागि खुल्ला आह्वान गर्नुहुँदै प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ । 

यसअघि शनिबार मुख्यमन्त्री सिंहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभएको थियो ।