• १४ असोज २०८१, सोमबार

बाढीपहिरोले १८ परिवार विस्थापित

blog

पहिरोले जोखिममा परेको बस्ती । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, असोज १४ गते । तीन दिनअघिदेखि परेको अविरल वर्षात्को कारणले बाढी र पहिरोमा परी १८ परिवार विस्थापित बनेका छन् । जिल्लाको रैनादेवी छहराका छ, तानसेनका नौ, रम्भा, बगनासकाली र निस्दी गाउँपालिकाका एक/एक परिवार गरी १८ परिवार विस्थापित बनेको प्रहरीले जनाएको छ । 

वर्षात्ले रैनादेवी छहरास्थित रिडी खोलाको बाढीले पाँचवटा घर डुबाएको छ । एउटा घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै तानसेन–५, कैलाशनगरस्थित सुकुम्बासी बस्तीको नौ वटा घरहरू पहिरोको जोखिममा परेका छन् । वर्षात्ले सडक छेउबाट बगेको पहिरो बस्तीतर्फ लागेपछि बस्ती जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । यस्तै निस्दीको ढुङ्गानाबेसी, रम्भाको पीपलडाँडा र बगनासकालीको यम्घामा पनि स्थानीयबासीको घर पहिरोको जोखिममा परेपछि पीडित परिवार, पशुचौपायालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरो र बाढीको जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी निरीक्षक बेल्बासेले जानकारी दिनुभयो । जिल्लाको अन्य क्षेत्रमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

बाढी र पहिरोले हालसम्म पाल्पामा मानवीय क्षति नभएपनि सडक, विद्युत्, सार्वजनिक सम्पत्ति तथा व्यक्तिका सम्पत्तिमा भने ठूलो क्षति पुगेको छ । यसैबिच जिल्लाको ग्रामीण क्षेत्रमा जाने सडक अवरुद्ध बनेका छन् । तानसेन–रामपुर, तानसेन–हार्थोक–छहरा, तानसेन–तम्घास, तानसेन–पीपलडाँडा–रामपुर सडकखण्ड अबरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्ड भने खुलेको छ ।