• १४ असोज २०८१, सोमबार

थारू बस्तीमा छैन सखियाको चहलपहल

blog

धनगढी समाचारदाता

धनगढी, असोज १४ गते । दसैँको सँघारमा सखिया नाचले चहलपहल हुने थारू बस्ती यतिबेला सुनसान छन् । दसैँ नजिकिए पनि यो वर्ष अहिलेसम्म थारू गाउँबस्तीमा सखियाको चहलपहल बढ्न नसकेको हो । विगतमा दसैँ आउनुभन्दा केही समयअगाडिबाटै धेरै जसो गाउँमा सखिया नाच सुरु हुने गर्दथ्यो । रात्रिको समय हरेक दिन सखिया नाचिँदा मादलको आवाजले बस्ती नै गुञ्जायमान हुन्थ्यो तर यो वर्ष त्यस्तो रौनक देखिएको छैन । 

दसैँ नजिक आइसक्दासम्म गाउँबस्ती सुनसान र खाली रहेको थारू विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुर करिया प्रधानले बताउनुभयो । “सखिया नाच्ने जहाज चढेर विदेश र मादल बजाउने पसिना बगाउन लाहुर गए,” उहाँले भन्नुभयो, “त्यसैले गाउँ सुनसान र खाली छ । सखियाको रौनक छैन ।”

सखिया थारू जातिको महिलाले सामूहिक रूपमा नाच्ने मौलिक नाच हो । एकैनासको लेहेङ्गा, चोल्या वा गोन्या लगाएर मादलको तालमा मजिरा बजाउँदै निकै कलात्मक तरिकाले सखिया नाच नाचिन्छ । विशेष गरेर दसैँलगायतका चाडपर्वमा सखिया नाचेर रमाउने गरिन्छ । थारू बस्तीमा सखियाको मादल गुञ्जिन थालेपछि दसैँ आउन लागेको भन्ने बुझिन्छ । गाउँका मान्छे सहर र सहरको चालचलन गाउँ पसिरहेका कारण दसैँ आउन लागेको जनाउ दिने सखिया नाच हराइरहेको कतिपयको बुझाइ छ । 

सखिया नाच्ने पलायन भइरहेका कारण गाउँघरमा सखिया नाच कम हुन थालेको कला क्षेत्रमा क्रियाशील सुधराम दहितको ठम्याइ छ । उहाँले कञ्चनपुरको केही गाउँमा सखिया नाच भइरहेको जनाउँदै थप्नुभयो, “कैलालीमा त बिलकुल सुनसान छ । दसैँ आइसके पनि सखियाको रौनक आएन ।”

विगतमा मोबाइल, टिभी जस्ता आधुनिक उपकरण नहुँदा सखिया जस्ता विभिन्न नाचकोर, नाटक हेरेर नै स्थानीय रमाउने गर्दथे । अचेल मान्छेका हातहातमा एन्ड्रोइड मोबाइल छन्, घर घरमा टिभी । उनीहरू त्यसैमा समय व्यतीत गरिरहेका छन् । आधुनिक उपकरणको बढ्दो प्रयोगका कारण पनि मौलिक नाचगानमा कमी आइरहेको थारू बुद्धिजीवीको भनाइ छ । 

यो समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी सखी अर्थात् साथीहरू मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको बताइन्छ । सखियालाई गीतहीन सामूहिक नृत्य पनि भन्ने गरिएको छ ।