• १४ असोज २०८१, सोमबार

बाढी, पहिरो र डुबान: सत्र जनाको मृत्यु नौ जना बेपत्ता

blog

कोशी प्रदेश ब्युरो

विराटनगर, असोज १४ गते । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा अहिलेसम्म सत्र जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद दाहालका अनुसार पाँचथर र सोलुखुम्बुमा पाँच÷पाँच, धनकुटामा दुई, उदयपुर, झापा र इलाममा एक÷एक जनाको मृत्यु भएको हो । त्यसै गरी धनकुटास्थित तमोर नदीमा दुई जनाको शव भेटिएको छ । प्रहरीका अनुसार ती शवको पहिचान खुल्न सकेको छैन । बाढीपहिरोमा परेर पाँचथरमा छ, झापामा दुई र मोरङमा एक जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इतिहासमै दोस्रो ठुलो बाढी

वराहक्षेत्र समाचारदाताका अनुसार सप्तकोशी नदीमा पाँच दशकयताकै पानीको उच्च बहावले कोशी तटीय क्षेत्रका बासिन्दालाई त्राहिमाम बनायो । वर्षायाम टरिसकेपछि परेको अविरल वर्षाले सप्तकोशी नदीमा ५६ वर्षयताकै ठुलो बाढी आयो । शनिबार कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको थियो । वर्षाका चार महिना कटेसँगै केही राहतको सास फेर्न मात्रै भ्याएका सप्तकोशी तटीय क्षेत्रका बासिन्दालाई शनिबार पुनः त्रसित बनायो । 

शनिबार सबेरैदेखि पानीको बहाव उच्च हुँदै गएको कोशीले यसभन्दा अघि सन् १९८७, १९८९, २००४, २०१९ मा आएका बाढीभन्दा ठुलो रूप लिन पुग्यो । सप्तकोशी नदीमा सन् १९६८ अक्टोबर ५ मा अएको सात लाख ८८ हजार दुई सय क्युसेक पानी बहावपछि इतिहासमै दोस्रो पटक आइतबार बिहान छ लाख ६१ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रेकर्ड गरिएको छ । शनिबार बिहानबाट पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो ।  

सन् १९५४ अप्रिल २१ मा नेपाल र भारतबिच कोशी योजनासम्बन्धी सम्झौतापछि सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेजले नौ लाख क्युसेक पानीको चाप थाम्न सक्ने भए पनि छ लाख क्युसेक पानी नदीमा हुँदा नै ब्यारेजको ढोकामा नअटाई पुलमाथिबाटै बाढी बग्यो । ५० वर्ष आयु तोकिएको ब्यारेजको पुलको आयु सकिएको १२ वर्ष भइसकेको छ । प्रत्येक वर्ष पानीसँगै आउने गेग्य्रानले नदीको सतह उच्च हुँदै आउँदा ब्यारेजका ५६ वटै ढोका खोलिँदा पनि इतिहासमै पहिलो पटक पानी पुलमाथिबाट बगेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना निकालेर कोशी ब्यारेजमा आवतजावतसमेत बन्द गराएको छ ।   

कोशीमा पानीको बहाव उच्च भएसँगै वराहक्षेत्र नगरपालिका–६ र ९ तथा बेलका नगरपालिका–२ र ३ को नदी उकास क्षेत्रमा रहेको श्रीलङ्काटप्पु क्षेत्र जलमग्न भयो । चारैतिर नदीले घेरिएको टप्पुमा पानी पस्दा टप्पुवासीमा कोलाहल मच्चियो । नदीको कटानले खुम्चिँदै आएको टप्पुमा ३४ वर्षपछि टप्पुवासीका घरमा पानी पसेको स्थानीय बद्री राई बताउनुहुन्छ ।

शनिबार दिउँसोदेखि अविरल वर्षा पूर्वी पहाडी क्षेत्रमा रोकिएसँगै आइतबार बिहानदेखि नदीमा पानीको बहाव घट्दो गएको छ । नदी बिस्तारै आफ्नै लयमा फर्कने व्रmममा रहेपछि तटीय क्षेत्रका बासिन्दाले केही राहतको सास फेरेका छन् । तत्कालका लागि सङ्कट टरे पनि जोखिम रहिरहेको कोशीपीडित लालबहादुर लिम्बू बताउनुहुन्छ । नदीमा पानी घट्दो व्रmममा भए पनि तटबन्धमा कटान लाग्ने हुँदा जोखिम नटरेको उहाँ बताउनुहुन्छ । कोशीमा पानीको जलसतह उच्च भए पनि कोशीले पूर्वी स्परहरूमा यो समाचार तयार पार्दासम्म कुनै क्षति पु-याएको छैन । पूर्वी तटबन्धको राजाबास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । तटबन्धसम्म आएको कोशी नदीको भेल नदीमा पानी घटेसँगै कम हुँदै गएको छ । 

फसेकाहरू सकुशल 

सप्तकोशी नदीको चिलैयाटप्पुमा शनिबार बिहानदेखि फसेका सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–२, बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालक किसान सकुशल रहेको प्रहरीले जनाएको छ । 

बालचन खोरिया क्षेत्रमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यलय महेनद्रनगरका प्रहरी निरीक्षक विकास राईका अनुसार नदीमा फसेका २५ जना किसान सकुशल रहेका र आफन्तको सम्पर्कमा रहेका छन् ।