• १४ असोज २०८१, सोमबार

काउन्सिलमा कोरियाली डिजिटल कला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ स्वर्ण जयन्तीका अवसरमा नेपाल कला परिषद् बबरमहलमा कोरियाली डिजिटल कला प्रदर्शनी भइरहेको छ । 

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित प्रदर्शनी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार उद्घाटन गर्नुभएको हो । उहाँले कोरिया र नेपालबिचको सम्बन्ध विशिष्ट रहेको चर्चा गर्दै दुई देशबिचको सम्बन्ध अझै प्रगाढ बनाउने विचार व्यक्त गर्नुभयो । 

मन्त्री पाण्डेले कोरियाले ५० हजारभन्दा बढी नेपालीलाई रोजगारी उपलब्ध गराएर नेपालको बेरोजगार समस्या समाधानमा सहयोग गरेकोमा कोरियाली सरकारलाई धन्यवाद दिनुभयो । उहाँले कोरियाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत क्षेत्रमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको बताउनुभयो । उहाँले कोरिया र नेपालबिचका समानताको विषय उल्लेख गर्दै डिजिटल कला प्रदर्शनी जस्ता कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । प्रदर्शनी मङ्गलबारसम्म सञ्चालन हुने जनाइएको छ ।