• १२ असार २०८१, बुधबार

उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान कार्य हुँदै

blog

भोटराज राई

उदयपुर, वैशाख ३० गते । परराष्ट्रमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा= नारायण खड्काले उदयपुरको बेलका नगरपालिकाबाट मतदान गर्नुभयो । मन्त्री खड्काले बेलका–८ को डुडखोला मतदान केन्द्रमा ८ः४० बजे मतदान गर्नुभएको हो । स्थानीय निर्वाचनमा उहाँ उदयपुर जिल्लामा सक्रियतापूर्वक खट्नुभएको थियो ।

यसैबीच, उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान भइरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा समयमै मतदान सुरु भएको हो ।

दुई लाख २३ हजार १३८ मतदाताका लागि तोकिएको ९८ स्थानका २५८ मतकेन्द्रमा सबै ठाउँ समयमै बिहान ७ः०० बजेदेखि मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो ।

मतदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ । बिहानैदेखि मतदानस्थलमा भीडभाड देखिएको छ । भीडलाई व्यवस्थित पार्दै पुरुष, महिला र वृद्धवृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लामको व्यवस्था मिलाइएको छ ।

मतदानका लागि मौसमले साथ दिएको छ । बिहानदेखि नै घाम लागेको छ । वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टाँगेर मतपत्र तथा पेटिकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सञ्चालन सहज भएको जनाइएको छ ।

मतकेन्द्र, मत पेटिका, मतदान स्थल तथा मतदानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले सुरक्षा घेरा लगाएको छ भने बाहिरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती गरिरहेको छ ।