• १४ असोज २०८१, सोमबार

सुरुङमार्ग बन्यो सहारा

blog

सुरुङमार्गबाट यात्रु लिएर आएको बस । तस्बिर साभार : जीवन नेपाल/बिबिसी नेपाली सेवा

काठमाडौँ, असोज १४ गते । अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ । नागढुङ्गाभन्दा तल चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिरनजिकै त्रिभुवन राजपथको झ्याप्लेखोलामा ठुलो पहिरो जाँदा सम्पर्क टुटेको काठमाडौं उपत्यकालाई निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले सहारा दिएको हो । 

सडक अवरुद्ध हुँदा राजधानी आउन जान नसकेका अलपत्र यात्रुलाई पहिलो पटक सुरुङमार्गले सेवा दिएको हो । शनिबारदेखि नै उक्त मुख्य सुरुङमार्गबाट अनौपचारिक आवागमन सुरु भएको छ । सुरुङमार्गको पूरा काम सक्न भने अझै झन्डै एक वर्ष लाग्ने अनुमान छ । 

अहिले सुरुङबाट बस, एम्बुलेन्स तथा अत्यावश्यक सामान बोकेका गाडी आवतजावत गरिरहेका छन् । यात्रुलाई बसमा राखी सुरुङमार्गबाट ओहोरदोहोर गराइएको छ । 

हाज्मा–आन्द्रो निर्माण कम्पनीका साइट सुरक्षा प्रमुख नवीन पण्डितले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि मानवीय संवेदनशीलताका आधारमा यात्रुलाई सुरुङमार्ग भएर ओहोरदोहोर गराइएको जानकारी दिनुभयो । उहाँले सुरुङमार्गभित्र सुरक्षाको पूर्ण व्यवस्था गरेर सवारीसाधन चल्न दिएको बताउनुभयो । 

उहाँका अनुसार शनिबार र आइतबार गरी पाँच हजारभन्दा बढी मानिसलाई सुरुङमार्गबाट पार गराइएको छ । यात्रुलाई चन्द्रागिरि नगरपालिकाले उपलब्ध गराइएका दुई वटा बसमा राखेर ओहोरदोहोर गराइएको हो । अन्य बसलाई सुरुङमार्गभित्र ओहोरदोहोर गर्न दिएको छैन ।

उहाँले ट्रफिक प्रहरी, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना तथा कम्पनी हाज्मा–आन्द्रोको समन्वयमा सुरुङबाट यात्रुसहित अत्यावश्यक सामग्री बोकेका सवारीसाधन पनि पठाइएको बताउनुभएको छ । जसमा एम्बुलेन्स, औषधी, कुखुरा बोकेका गाडी रहेका छन् । नागढुङ्गा–मुग्लिङ सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सुरुङमार्गबाट यो सेवा दिइने उहाँले जानकारी दिनुभयो ।

प्राविधिक दृष्टिकोणले निर्माणाधीन अवस्थामा रहेको सुरुङमार्गबाट मानिस वा सवारीसाधनलाई आवतजावत गर्न नदिनुपर्ने भए पनि प्राकृतिक विपत्का बेला मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधनलाई आवतजावत गर्न दिइएको सुरक्षा प्रमुख पण्डितले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मानिस ओहोरदोहोर गर्ने गरी सुरुङमार्ग पूर्ण रूपमा तयार भइनसकेकाले मानिसको स्वास्थ्यमा अचानक केही असर गर्न सक्छ कि भनेर बसमा ट्राफिक प्रहरी, सुरुङमार्ग आयोजना र निर्माण कम्पनीका प्राविधिकलाई यात्रुसँग बसमा नै बसेर ओहोरदोहोर गराइएको छ । निर्माण कम्पनीका प्राविधिक र प्रहरीले सवारीसाधनको ‘स्कर्टिङ’ गरिरहेका छन् ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन कार्कीले नागढुङ्गा–मुग्लिङ सडक बन्द रहेको अवस्थामा आकस्मिक सेवाका रूपमा यात्रुको उद्धारका रूपमा सुरुङमार्ग प्रयोग गरिएको बताउनुभयो ।

द्रुतमार्गको काम प्रभावित

राजधानीलाई जोड्ने गरी बनाइँदै गरेको अर्को सडकमा पनि समस्या आएको छ । निर्माणाधीन काठमाडौँ/तराई–मधेश द्रुतमार्गको काम बाढीपहिरोले प्रभावित भएको हो । 

द्रुतमार्ग क्षेत्रका विभिन्न गाउँ टोलमा निर्माण भइरहेका पहुँचमार्गबाट आएका पहिरोका कारण अहिले आयोजनाको काम स्थगित भएको नेपाली सेनाले जनाएको छ । उहाँका अनुसार सिस्नेरी, महादेवटार, मखुबेँसीलगायतका क्षेत्रमा बढी मात्रामा पहिरो गएको हो ।

उहाँले भन्नुभयो, “अहिले पहिरोका कारण द्रुतमार्गका पहुँचमार्ग अवरुद्ध भएकाले तत्काल आयोजनाको काम बन्द छ । पहिलेकै गतिमा काम सुरु हुन तीन/चार दिन लाग्न सक्छ ।