• १२ असार २०८१, बुधबार

सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान स्थगित

blog

मतदाताबीच ठेलमठेल भएपछि मेलम्ची नगरपालिका–४ ज्यामिरेमा नेपाली सेनाले स्थितिलाई नियन्त्रणमा ल्याउँदै ।

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख ३० गते । मतदान केन्द्रमा खटिएका एजेन्टले दुईजना मतदाताको नाममा मतदान गरेको आरोपमा नेकपा एमालेका युवाले बाह्रबिसे नगरपालिका–१ घोर्थलीस्थित भूमेश्वरी आबिमा रहेको मतदान केन्द्रमा ढुङ्गामुढा र टेबल तोडफोड गरेका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले उक्त घटनापछि १२ बजेसम्म मतदान स्थगित भएको जानकारी गराउनुभयो । बिहान ११ बजेदेखि यो समाचार तयार पर्दासम्म स्थगित मतदान शुरु हुन सकेको छैन । मतदान पुनः सञ्चालनका लागि दलहरु, मतदान अधिकृतहरुको बैठक बसिरहेको छ ।

नौ सय २७ मतदाता रहेको सो वडामा तीन सय मत खसेको बाह्रबिसे नगरपालिका सहायक निर्वाचन अधिकृत अक्षयकुमार दनुवारले बताउनु भयो । त्यस्तै, मेलम्ची नगरपालिका–४ ज्यामिरेमा मतदाताबीच ठेलमठेल भएपछि नेपाली सेनाको उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको छ ।

पाँचपोखरी गाउँपालिका–२ याङग्री मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्तक्षर बिनाको मतपत्र भेटिएपछि विवाद भई केही मतदान रोकिएको थियो । उक्त मतदान केन्द्रमा अहिले पुनः मतदान शुरु भएको सिन्धुपाल्चोक जिल्ला निर्वाचन अधिकृत विकास रिजालले बताउनुभएको छ ।