• १३ असोज २०८१, आइतबार

कमल थापालाई दोहोरो स्वर्ण

blog

कमल थापा । फाइल तस्बिर

काठमाडौँ, असोज १३ गते । कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा दोहोरो स्वर्ण जित्नुभएको छ । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको हो । 

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६–४, ७–५ को सोझो सेटमा पराजित गर्नुभयो । अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई सीधा सेटमा ६–३, ६–० ले हराउनुभयो । 

आइतबारै विभिन्न पाँच स्पर्धाका डबल्स र एक स्पर्धाको फाइनल पनि भए । पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो हुनुभयो । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई हराउँदै पहिलो हुनुभयो ।

४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले बाजी मारेको छ । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बन्यो । पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धर फाइनलमा पुग्नुभएको छ । महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने पक्का भएको छ ।