• १३ असोज २०८१, आइतबार

बिपी राजमार्ग क्षतविक्षत : सेनाले थाल्यो काम

blog

अविरल वर्षाका कारण आइतबार बिहान खुर्कोट नजिक धसिएको बिपी राजमार्ग । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असोज १३ गते । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बिपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।

उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन (जग) भत्काएपछि सडक भत्किएको उक्त वडाका अध्यक्ष रेगनराज थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी शनिबार बेलुका ७ बजेतिर जाँदा त्यसको अवस्था ठिक थियो । बिहान जाँदा भासिरहेको रहेछ । त्यसको फाउण्डेसन कोशीले काटेछ । तल कोप्री रहेको हुनाले माथिको प्रेसरले त्यो झर्‍यो ।’

बिपी राजमार्गकै खुर्कोट बजार नजिकै करिब १५ मिटर सडक चर्किएको र त्यहाँ वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उहाँले सुनाउनुभयो । यता जिल्ला प्रशासन कार्यालयले भने सिन्धुली जिल्लामा बिपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सबैभन्दा बढी मुलकोटदेखि नेपालथोकसम्म सात ठाउँमा सडक भत्किएर क्षति भएको जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले सडक भासिएको कानढुङ्ग्री नजिकै नेपाली सेनाले अस्थायी ट्रयाक निर्माण सुरु गरेको र आइतबार बेलुकासम्म उक्त ट्रयाक निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहाँ कति भत्किएको छ, कहाँ पिच काटेको छ । त्यसको सडक विभागले प्राविधिक प्रतिवेदन बनाउला । त्योभन्दा सानातिना पहिरो झरेर थुप्रिएको गनिसाध्य छैन ।’

मेसिन लगाएर पहिरो पन्छाउने काम भइरहेको र आज नेपालथोकसम्म पुग्ने उहाँले बताउनुभयो । प्रजिअ शर्माका अनुसार क्षतिको विवरण सङ्कलन गरी गृह मन्त्रालय र नेपाल सरकारलाई पठाउने काम भइरहेको छ । ‘अहिले हाम्रो प्राथमिक काम भनेको नेपालथोकसम्म बाटो खुलाउने हो, त्यसका लागि हामी लागिरहेका छौँ,’ उहाँले थप्नुभयो । 

बिपी राजमार्गले तराईको धनुषा, महोत्तरी हुँदै पहाडी जिल्ला सिन्धुली, काभ्रे जिल्लालाई राजधानी काठमाडौँसँग जोड्दछ । महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्मको कुल १६० किलोमिटर लम्बाइको बिपी राजमार्गलाई चार खण्डमा विभाजन गरी वि.सं. २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । १९ वर्षमा निर्माण सम्पन्न भएको बिपी राजमार्ग निर्माणमा जापान सरकारको २६ अर्ब रुपियाँ (नेपाली रुपियाँ) लगानी भएको थियो । 

अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक अगाडि करिब ६० मिटर लम्बाइको सडक कालोपत्रेसहित भत्काएर पूरै बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेले बिपी राजमार्ग सिन्धुलीको दुम्जा क्षेत्र र काभ्रे जिल्लामा वर्षाका कारण सडक धेरै क्षति भएकाले यातायात खुलाउन तीन-चार दिन लाग्न सक्ने बताउनुभयो । जतिसक्दो चाँडै एकतर्फी भने पनि यातायात सेवा खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।