• १३ असोज २०८१, आइतबार

मध्यम कथा ‘देवरा’

blog

काठमाडौँ, असोज १३ गते । बलिउडमा साउथका चलचित्रहरू अहिले राम्रो चर्चा बटुलिरहेको छ । राम्रो कथा, भव्य सेट, एक्सन र कलाकारको अभिनयले बलिउडमा मात्र होइन हलिउडमा पनि चर्चा बटुल्न थालेको छ । बाहुबली, कान्तारा, महाराजा, आरआरआर, कल्की २८९८ ले जसरी दर्शकको मन जितेको थियो । 

शुक्रबारबाट प्रदर्शित चलचित्र ‘देवरा’ ले पनि दर्शकको मन जित्ने पक्कापक्की छ । जुनियर एनटी रामाराव, सैफ अली खान, जान्हवी कपुर र प्रकाश राजको बेजोड अभिनयले दर्शकलाई अवश्य नै प्रभावित बनाउँछ । समुद्रको किनाराको गाउँमा चार जना बसोबास गर्छन् । त्यहाँको नेतृत्व देवरा (जुनियर एनटी रामाराव) ले गरिरहेका छन् । उनले त्यहाँको नेतृत्व गर्नुको मुख्य कारण त्यस गाउँका समुदायका मानिसलाई रक्षा गर्नुहुन्छ । उनले सबैलाई सुरक्षित राख्ने वचनसमेत दिएका हुन्छन् । यी कुरा देवराका लागि सजिलो हुँदैन । भेरा (सैफ अली खान) देवराविरुद्ध अनेकन षड्यन्त्र रच्न थाल्छन् र उनी भेराको जालसाझमा फस्छन् । 

चलचित्रमा जुनियर एनटी रामाराव बुवाछोराको दोहोरो भूमिकामा देखिएका छन् । देवरा गाउँलेको सुरक्षा गर्न असफल भएपछि उनी यो जिम्मा छोरालाई सुम्पिन्छन् तर उनका छोरा कसैसँग झगडा नगर्ने हुन्छन् । चलचित्र यिनै कुराको वरपर घुमेको छ । 

सैफ अलि खानको षड्यन्त्र सफल हुन्छ हुँदैन भन्ने कुरादेखि लिएर जुनियर एनटी रामारावको कायरताको कुरासम्मले चलचित्रको कथाको मुख्य पाटो बनेको छ । जुनियर आफ्नो बुवाविरुद्ध रचिएको षड्यन्त्र भन्डाफोर गर्न सफल हुन्छन् या उनी सधैँ कायर नै रहन्छन् । उनको कायरता साहसीमा परिवर्तन हुन्छ या हुँदैन । चलचित्रको कथा यिनै कुरामा अल्झिएको छ ।

चलचित्रमा जुनियर एनटी रामारावको अभिनय र उनले गरेका एक्सनका दृश्य अन्य चलचित्रको भन्दा फरक छ । भनिन्छ, चलचित्रमा नायक बलियो भयो भने खलनायक पनि उसको प्रतिस्पर्धीकै हुनु पर्छ । यो कुरा चलचित्र देवरामा लागु भएको छ । सैफ अलि खानको संवाद बोल्ने शैलीले नै दर्शकलाई मोहित बनाउँछ । सबै कुरामा उनी निपुण छन् । थङ्गमको भूमिकामा देखिएकी नायिका जान्हवी कपुर अभिनयमा भन्दा सुन्दरतामा धेरै भिजेकी छिन् । एनटी रामारावको प्रेमिकाको भूमिकामा देखिएकी उनी अभिनयमा कम नाचगानमा धेरै उल्झेकी छिन् ।  

कोरतला शिवको निर्देशकीय पक्ष राम्रो छ । चलचित्रको कथा मध्यम भए पनि कथा लेख्नेदेखि लिएर कथालाई पर्दामा प्रस्तुत गर्न उनले आफूलाई उत्कृष्ट साबित गरेका छन् । कथामा कलाकार छनोट होस् वा पर्दामा भव्य र अकल्पनीय दृश्य सिर्जना गर्न होस्, हरेक पक्षमा उनको काम प्रशंसनीय छ । चलचित्र देवरा सामान्य कथा जस्तो लागे पनि यसलाई एपिक चलचित्र भन्दा फरक पर्दैन । चलचित्रभित्र दर्शकले मध्यम कथा, सुन्दर दृश्य र समुद्रमा देखिएका फरक फरक एक्सनका दृश्य पाउने छन् । चलचित्र पूर्णतया पारिवारिक मनोरञ्जनात्मक बनेको छ ।