• ८ पुस २०८१, सोमबार

पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टर सञ्चालनमा

blog

पामबाट सम्मानित भएपछि जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान ।

काठमाडौँ, असोज १२ गते । बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम कम्युनिटीएन्ड स्पोर्ट्स सेन्टर सञ्चालनमा आएको छ ।

सेन्टरको शनिबार उद्घाटन नागर्जुन नगरपालिका वडा–१ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठले सेन्टरको एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ रुम, शौचालयलगायतका सुविधा छन् । जिएलएस फ्युचर फाउन्डेसन, जर्मनी, जुडोका विश्व च्याम्पियन डेनिस भान र नागर्जुन नगरपालिकाको सहयोगमा करिब एक करोड ७७ लाख रुपियाँ लागतमा सेन्टर निर्माण गरिएको बताइएको छ ।

सन् २०२३ को मेमा सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो । पामका जुडो प्रमुख प्रशिक्षक समेत रहेका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले हल निर्माणसँगै खेलाडीलाई प्रशिक्षण गराउन धेरै सहज भएको बताउँदै आगामी दिनमा राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । 

टोकियो ओलम्पिक– २०२० मा जुडोकी सोनिया भट्ट सहभागी हुँदा सूर्यनारायण उहाँका प्रशिक्षक हुनुहुन्थ्यो । जुडो खेलमा पामका खेलाडीको गर्विलो उपस्थिति रहँदै आएको छ । १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग) को रजतलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल मनीता श्रेष्ठ प्रधान पामकै उत्पादन हुनुहुन्छ । मनीताले ओलम्पिकसम्मको यात्रा समेत तय गरिसक्नुभएको छ । 

मनीताले पेरिस ओलम्पिक– २०२४ मा ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटा मार्फत नेपालको प्रतिनिधित्व गर्नुभएको हो । तीन दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया र निशा आ आफ्नो तौलसमूहका वर्तमान राष्ट्रिय च्याम्पियन हुनुहुन्छ । इन्द्रले १२औँ सागमा कांस्य र १३औँ सागमा रजत जित्नुभएको थियो । 

देवकीले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडोको कातमा स्वर्ण जित्नुभएको थियो ।  मनीता, इन्द्र र देवकीले एसियाली खेलकुदमा पनि सहभागिता जनाइसक्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पामकै उत्पादन उत्तम प्रधानले कांस्य तथा सुबोध मण्डल र पेमा याङजी शेर्पाले स्वर्ण जित्नुभएको थियो । 

विभिन्न कारणले कैदी जीवन बिताइरहेकाको सन्तानलाई आश्रय दिने उद्देश्यले सन् १९९१ मा पारिजात वाइबाले स्थापना गरेको पाममा हाल २८ जना बालवालिका आश्रित छन् । सबैले जुडो खेल्छन् । उनीहरुका अलावा समुदायका ६२ बालवालिका पनि पाममै जुडोको प्रशिक्षण लिइरहेका छन् ।

सेन्टर उद्घाटनका अवसरमा मनीतासहित पामका अध्यक्ष श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । ‘मनीताले जुडो खेलमार्फत नेपाललाई थ्रुपै पदक दिलाएर राष्ट्रको गौरव बढाउनु भएको छ । अध्यक्ष श्रेष्ठले पाम कुनै समय दुरावस्थामा हुँदा यसलाई सुधार्न उहाँको सक्रिएता, पहल र योगदान महत्वपूर्ण र प्रशंसनीय छ,’ सम्मानपछि निर्देशक सूर्यनारायणले भन्नुभयो ।