• १२ वैशाख २०८१, बुधबार

मताधिकार त्यागेर विदेशतिर

blog

काठमाडौँ, वैशाख ३० गते  । म्याग्दी स्थायी घर भएका विमल मगर बिहीबार दिउँसो साउदी अरब जान काठमाडौँको कलङ्कीबाट साझा बस चढेर विमानस्थल जाँदै हुनुहुन्थ्यो । दुई महिनाअघि घर बिदामा आउनुभएका मगर बिदा अवधि सकिएपछि पुनः साउदी अरब लाग्नुभएको हो । 

घरमा क्यान्सरबाट थलिएका बुवालाई छोडेर विदेश हिँड्नुपरेको बताउने मगरले भन्नुभयो, “विदेश रहरले को जान्छ र ? बाध्यताले हिँडेको हुँ, बुवाको क्यान्सरको महँगो उपचारले ऋण दिनहुँ थपिएको थपियै छ । चुनाव भनेर बसेर के गर्नु, ऋण आफैँ तिर्नुपर्छ ।”उहाँको साथमा पर्वतका प्रकाश विक र नवलपरासीका किरण अधिकारी पनि हुनुहुन्थ्यो । साउदीबाट आउँदा सँगै आउनुभएका विक र अधिकारीको काम गर्ने कम्पनी भने फरक छ । 

स्थानीय तहको निर्वाचनको एक दिनअघि उहाँहरू विदेश लाग्नुभएको हो । जनप्रतिनिधि चुन्ने र लोकतान्त्रिक अधिकार प्रयोग गर्ने भनेर मात्रै सबैलाई कहाँ पुग्दो रहेछ र ? चुनावकै मुखमा विदेसिने युवाको सङ्ख्या ठूलै छ । देश निर्वाचनमय भइरहेका बेला विदेश हिँडेका युवा आफू रहरले नभई बाध्यताले हिँड्नुपरेको बताउँछन् । 

पर्वतका प्रकाश विकको त आफ्नै आमा स्थानीय तहको वडा सदस्यको प्रतिस्पर्धामा हुनुहुन्छ । घर बिदामा आउँदै फर्कने टिकट लिएर आउनुभएका विकले भन्नुभयो, “आमालाई भोट दिएर जिताउन र खुसी मनाउन कसको मन हुँदैन र ? बाध्यताले टिकटको समयअनुसार हिँडनुप-यो, नगए त्यही पनि फुत्किन्छ ।” 

मुखैमा आएको निर्वाचनमा विदेश हिँडनुभएका नवलपरासीका किरण अधिकारीले भन्नुुभयो, “निर्वाचन भनेर के गर्नु ? टिकट आजैको छ, सार्न मिल्दैन, घरमा बसेर परिवार पाल्न सकिएन, बाध्य भएर फेरि हिँडियो ।” नेताको पछाडि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेको उहाँको बुझाइ छ । 

भोट हालेर मात्रै जानु भन्ने धेरै आएका थिए तर विकले उनीहरूको आग्रह मान्न सक्नुभएन । “नेता आएर चुनावमा सहयोग गर्न‘पर्छ भन्दै थिए, स्वदेशमै परिवार पाल्ने आधार कसैले दिन सक्दैनन् । आफ्नो हुँदाखाँदाको रोजगारी छोडेर के भोट हाल्न बस्नु, हिँडियो, विदेशतिर,” नवलपरासीका किरण अधिकारीले भन्नुभयो । उहाँहरूजस्तै निर्वाचनको मुखमा विदेश जान श्रम स्वीकृति लिनेको दैनिक सङ्ख्या औसतमा एक हजार दुई सय रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने क्रम स्थानीय तहको निर्वाचनले नरोकिएको जानकारी दिनुभयो । वैदेशिक रोजगार कार्यालय, काठमाडौँका सूचना अधिकारी हरिराम नागिलाले स्थानीय निर्वाचनको असर श्रम स्वीकृतिमा नदेखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वैशाख लागेपछि श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको छ तर निर्वाचनले हो वा अन्य कारण हो त्यो भने बुझ्न बाँकी छ ।” चैत महिनामा दैनिक औसतमा एक हजार आठ सयभन्दा माथि थियो, वैशाख लागेपछि दैनिक एक हजार दुई सयले श्रम स्वीकृति लिइरहेका छन् । 

विभागका अनुसार चैत महिनामा ५९ हजार ४६१ जनाले श्रम स्वीकृति लिएकामा वैशाखको २५ सम्म ३३ हजार १०७ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पाँच लाख नाघेको विभागले जनाएको छ ।