• ५ मंसिर २०८१, बुधबार

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

blog

मनोहरा खोलामा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी आसपासको क्षेत्र । तस्बिर : किरणराज विष्ट / रासस

काठमाडौँ, असोज १२ गते । वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले  दिनुभएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । यसैबिच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

यो पनि पढ्नुहोस