• १२ असोज २०८१, शनिबार

अध्यक्ष चयन प्रक्रिया सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । करिब नौ महिनादेखि नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै २०८० पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन छ ।

बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका निम्ति नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई पुनः अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाएको छ । सिफारिस समितिका अनुसार आगामी असोज १८ गते शुक्रबार बिहान ८ बजे प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । समितिले जारी गरेको सूचना अनुसार नेपाल स्टक एक्सचेन्ज नेप्सेका सिइओ कृष्णबहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई बोलाएको हो । यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न छनोट समितिले पाँच जनाको नाम तयार पारेको थियो । सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अन्तर्वार्ता र प्रस्तुति दिइसक्नुभएको छ ।

गत आर्थिक वर्षमा समग्रमा पुँजी बजार सुस्त नै रह्यो । आवको अन्तिम समयमा मुलुकले नयाँ अर्थमन्त्री पाएसँगै दोस्रो बजारमा उत्साह छाएको छ । यता पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा प्राथमिक बजारमा भने सुस्तता छाएको छ ।

बोर्ड नेतृत्वविहीन हुँदा प्राथमिक सेयर निष्कासन (आइपिओ) ले अनुमति पाउन नसकेको छैन र त्यसले गर्दा सेयर बजारमा नवप्रवेशीले आइपिओ भर्न पाएका छैनन् । पाइपलाइनमा थुप्रै कम्पनी भए पनि नियामक निकाय नेतृत्वविहीन हुँदा आइपिओ तथा हकप्रद सेयर जारी गर्ने काम अवरुद्ध हुन पुगेको छ । समग्र सेयर बजारको नियामक निकायका रूपमा रहेको बोर्ड नेतृत्वविहीन बन्दा यसको असर दैनिक सेयर बजारमा पनि परेको छ । सेयर बजार मापक नेप्से परिसूचक ३३ अङ्कले ओरालो लागेको छ भने कारोबार रकम चार अर्बमा सीमित भएको छ ।