• ६ पुस २०८१, शनिबार

सजिलो छैन कला ग्यालरी थेग्न

blog

काठमाडौँ, असोज ११ गते । कला एउटा निरन्तरको लगनशीलता हो । त्याग र तपस्या हो । त्यसैले त कला बहुमूल्य छ । कलाकारको मेहनत र सिर्जनाको मोलतोल गर्न भने कठिन छ । कलाकारले कलाको मूल्य नराख्न पनि त यहाँ सम्भव छैन । कला मानव सभ्यतासँगै जोडिएको छ । नेपाली चित्रकलाको इतिहास हेर्ने हो भने पौभा, मण्डला, पाटा (बेरुवा चित्र) तथा भित्तेचित्र बनाउँदै कलाको विकास भएको मानिन्छ ।

कलालाई दैनिकी बनाएका कलाकार मनिषलाल श्रेष्ठले आफ्नै घरमा ग्यालरी सञ्चालन गर्दै आउनुभएको छ । ललितपुरस्थित ‘एमक्युव’ ग्यालरी सञ्चालन गर्दै आएका कलाकार मनिषलाल भन्नुहुन्छ, “चित्रकला या मूर्तिकला सधैँ बिक्री हुने वस्तु होइन । कहिले राम्रै आम्दानी हुने चित्र बिक्री हुन्छन् । कहिले केही पनि नहुन सक्छ । महिनामा ५० हजारदेखि डेढ लाख रुपियाँसम्मका चित्रकला बिक्री हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार विगतमा ८० प्रतिशत नेपाली कलाकारले चित्र किन्थे । अहिले ८० प्रतिशत विदेशी पर्यटकको भरमा ग्यालरी धानिएको छ । कर तिर्ने विषयमा ग्यालरीले नै तिर्ने गरेको उहाँले बताउनुभयो । 

क्लासिक आर्ट ग्यालरीका सञ्चालक सरिता डङ्गोल आफ्नो ग्यालरी कलात्मक भएको हुनाले अन्य ग्यालरीसँग तुलना गर्न नमिल्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “म प्रायः आफ्नै चित्र प्रदर्शनी गरिरहेकी हुन्छु । बाहिरको एकदमै कम प्रदर्शनी गर्ने गरिएको छ । चित्रकला बिक्री त भई नै रहेको हुन्छ ।” सामान्यतः महिनामा एकदेखि डेढ लाख रुपियाँसम्मका चित्रकला बिक्री हुने गरेको उहाँले बताउनुभयो । ग्यालरीमा अरूहरूको प्रदर्शनीमा ३० प्रतिशत लिने गरेको उहाँले बताउनुभयो । अहिले कलाको बजार रामै्र रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “छिटफुट चलिरहेको छ । करको मामलामा भने वर्षमा एक पटक तिर्ने गरेका छौँ । फेरि कलालाई कर तिर्नु पर्छ भन्ने खासै प्रावधान छ जस्तो मलाई लाग्दैन । चित्रकला बिक्री गर्न कहाँ सजिलो छ र ? कहिले टन्नै बिक्री भइरहेको हुन्छ । कहिले वर्षमा एउटा पनि हुँदैन ।” 

कला समीक्षक एवं चित्रकार रमेश खनालले लाजिम्पाटस्थित आफ्नै घरमा अरुपण आर्ट ग्यालरी सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार विशुद्ध चित्र बेचेर ग्यालरी चलाउँछु भन्न कठिन छ । उहाँ भन्नुहुन्छ, “भोको पेटले चित्र बुझ्दैन । त्यसैले देशमा उद्योगधन्दा जति फस्टाउँदै र सप्रिँदै जान्छ, उति कला रोजाइमा पर्छ ।” नेपाली कलाकार, ग्यालरी सञ्चालक र सरकारले समेत चित्र किन्ने आकर्षक नीति बनाउन आवश्यक रहेको उहाँको धारणा छ । उहाँले भन्नुभयो, “पहिलेको तुलनामा चित्रकला बिक्रीमा केही मात्रामा सुधार आएको छ तर अझ पनि पूरै सन्तुष्ट हुने ठाउँ छैन । नेपालमा कलामै भनेर खासै कर लाग्ने गरेको सुनेको छैन । भारतमा त लाग्छ तर नेपालमा अहिलेसम्म सुनेको छैन ।” 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार थुम्केली नेपालमा कलाको विकास तीव्र गतिमा भइरहेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “कलाको क्षेत्रमा हामी अरू देशभन्दा अघि बढिरहेका छौँ । विगतमा प्रतिष्ठानले कला प्रवर्धनमा सक्दो योगदान गर्दै आएको थियो । भविष्यमा पनि ग्यालरी जोगाउन योजना ल्याउने छौँ ।”

नेपाल कला परिषद् र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको अरनिको आर्ट ग्यालरीबाहेक अरू निजीस्तरका ग्यालरी खोलिने र बन्द हुने क्रम जारी छ । निजी ग्यालरीमा सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी, अरुपण आर्ट ग्यालरी, भाव आर्ट ग्यालरी, लाइट एन्ड सेड आर्ट ग्यालरी, निर्वाण आर्ट ग्यालरी, जे आर्ट ग्यालरीलगायत छन् । नियमित ग्यालरीका रूपमा ठमेल, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, भक्तपुर, वसन्तपुर, ललितपुरलगायत पर्यटकीय स्थानमा समेत परम्परागत थाङ्का, समसामयिक, जनजीवन र हिमाली भूदृश्यका चित्रकला बेच्ने ग्यालरीसमेत तीन दर्जनभन्दा बढी छन् ।