• ११ असोज २०८१, शुक्रबार

म्याराथनमा सहभागी हुने खेलाडीलाई बिदाइ

blog

काठमाडौँमा हुने म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाद्वारा बिदाई गरिँदै । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, असोज १० गते । हेटौँडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाडौँमा हुने म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई उपमहानगरले बिदाइ गरेको छ ।

काठमाडौँमा यही शनिबार हुने १६औँ एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा हुने राष्ट्रिय म्याराथन सहभागी हुने २० जना खेलाडीलाई उपमहानगरपालिकाले बिहीबार एक कार्यक्रम गरी बिदाइ गरेको हो । नगर प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले प्रतियोगितामा विजयी हुन शुभकामनासहित बिदाइ गर्नुभएको थियो । 

उपमहानगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई प्रतियोगितामा प्रतिस्पर्धाका लागि छनौट गरी पठाइएको जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरका सचिव राजाराम पोखरेलले जानकारी दिनुभयो । 

४५ जना विद्यार्थी छनोट गरी तीन महिनाको बन्द शिविरमा राखेर प्रशिक्षण दिएर उनीहरूमध्येबाट छनोट गरी प्रतियोगितामा सहभागिताका लागि पठाइएको हो । हेटौँडाबाट प्रतियोगितामा सहभागी विद्यार्थीले तीन र पाँच किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।