काठमाडौँ, असोज १० गते । नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा गर्भपतन गर्न सकिने व्यवस्था छ । गोपनीयता अपनाएर सुरक्षित ढङ्गले गर्भपतन गराउन सकिने व्यवस्था छ । दुवै सेवाहरू अधिकांश सरकारी अस्पतालहरू तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरूमा पनि उपलब्ध छन् ।
गर्भपतनका लागि दुई वटा विधि प्रचलनमा छन् । पहिलो म्यानुअल भ्याकुम एस्पिरेशन (एमभिए) गरिने गर्भपतन र अर्को औषधिबाट ।
तर, नेपालमा १६ हजारभन्दा बढीले हानिकारक माध्यमबाट गर्भपतन गरेको एक तथ्याङ्कले देखिएको छ । सन् २०२२ मा परिवार कल्याण महाशाखा र आईपासले नेपालमा गरेको अध्ययनले १६ हजार ६६७ जनाले हानिकारक माध्यमबाट गर्भपतन गराएको देखाएको हो ।
लट्ठी र जरा घुसाउने, जडीबुटी औषधीको सेवन, पेट मसाज जस्ता हानिकारक विधि प्रयोग गरेर गर्भपतन गराएको उक्त अध्ययनले देखाएको छ ।
नेपालमा करिब ५२ प्रतिशत असुरक्षित गर्भपतन हुने गरेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार सन् २०२१ मा तीन लाख ३३ हजार ३४३ ले गर्भपतन गराएका थिए ।
जसमध्ये एक लाख ७६ हजार २९६ जनाले स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् । एक लाख ४० हजार ४६० जनाले स्वास्थ्य संस्थाभन्दा बाहिर गर्भपतन गराएका छन् भने हानिकारक माध्यमबाट १६ हजार ६६७ जनाले गर्भपतन गराएको तथ्याङ्कले देखाएको छ ।
एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्क अनुसार आर्थिक २०८०/८१ मा एक लाख पाँच हजार ९८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमध्ये २० वर्ष मुनिका छ हजार ९०१ छन् भने २० वर्षमाथिका ९८ हजार ११७ रहेका छन् ।
असुरक्षित गर्भपतनले लिन्छ ज्यान
परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले यदि राम्रोसँग नबुझी असुरक्षित गर्भपतन गराएमा धेरै रगत बग्ने, पाठेघरमा सङ्क्रमण वा जटिल समस्या देखिएर मृत्यु समेत हुन सक्ने जानकारी दिनुभयो ।
डा. विवेकका अनुसार असुरक्षित गर्भपतन मातृ मृत्युको एक प्रमुख कारण हो । यसले गर्दा पाँचदेखि १३ प्रतिशत मातृ मृत्यु हुन गर्छ ।
नेपालमा प्रत्येक दिन दुई जना मातृ मृत्यु हुने गर्छ । नेपालमा प्रति लाख जिवित जन्ममा १५१ को मातृ मृत्यु हुने तथ्याङ्क रहेको छ । करिब पाँच प्रतिशत मातृ मृत्युमध्ये गर्भपतनको जटिलताका कारणले हुने चिकित्सक बताउँछन् ।
गर्भपतन सूचीकृत स्वास्थ्य संस्थाबाट औषधी र उपकरणको प्रयोगबाट गर्न सकिने चिकित्सक बताउँछन् । जहाँ पायो त्यहीबाट गर्भपतन गराउने औषधीहरू किनेर नखान डा.विवेकको सुझाव छ । उहाँ भन्नुहुन्छ, “गर्भपतन गर्न पाउनु महिलाको अधिकार हो । गर्भपतन गर्भ निरोधक विधि हैन । यो अनिच्छित गर्भ रोक्ने उपाय मात्र हो ।”
सुरक्षित गर्भपतन सेवा लिएपश्चात् पुनः तुरुन्तै गर्भ रहन सक्ने भएकाले गर्भपतन गराएको दिन देखिनै गर्भनिरोधक समाधान अपनाउन उहाँको आग्रह छ ।
कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन
सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्था गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ले महिलाको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भपतन गराउन सकिन व्यवस्था गरेको छ ।
त्यस्तै, विशेष अवस्था जस्तै गर्भवतीको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब भएमा, जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहेमा, निको नहुने रोग लागेमा, भ्रूणमा कमी कमजोरी भएमा २८ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनमा व्यवस्था छ ।
नेपालमा गर्भपतनको अवस्था
सन् २००२ मा नेपालमा केही सर्तहरूको आधारमा गर्भपतनका लागि कानुनले मान्यता प्रदान गरेको थियो । हालसम्म ७७ वटै जिल्लाका जिल्ला अस्पतालहरू र सीमित प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सुरक्षित सेवा उपलब्ध छ ।
औषधीद्वारा गरिने गर्भपतन सेवा ७७ वटा जिल्लाहरूका केही स्वास्थ्य संस्थाहरूमा र १२ हप्ता वा सोभन्दा माथिको गर्भपतन सेवा ३७ वटा अस्पतालमा उपलब्ध छ । नेपाल सरकारले सन् २०१६ देखि सरकारी स्वास्थ्य संस्थाहरूमा गर्भपतनलाई निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।