• ८ पुस २०८२, मङ्गलबार

सञ्चारको सुविधाबाट वञ्चित हुँदै दुर्गमका स्थानीयवासी

blog

सञ्चार सुविधाबाट वञ्चित हुँदै आएको बाजुराको हिमाली गाउँपालिका–३ का बौडी विच्छ्या र गुम्बावासी । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की  

बाजुरा, पुस ८ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–३ दुर्गम गाउँ बस्तीका स्थानीयवासी सञ्चार सुविधाबाट वञ्चित हुँदै आएका छन् । 

जिल्लाका अन्य गाउँ बस्तीका स्थानीय इन्टरनेटको फोरजी सहितको सेवाको पहुँचमा रहँदै आएका भएपनि हिमाली गाउँपालिका ३ का बौडी विच्छ्या र गुम्बाका स्थानीयवासी भने आफै  सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् ।

यो दुनियाँ अहिले नेट इन्टरनेटको जमानामा चलेको छ । सरकारी कार्यालयहरूमा पनि नागरिकका काम कार्यहरू अन्लाईन मार्फत हुने गरेका छन् । हामी दुर्गमवासीहरूका लागि भने यी सेवा सपना जस्तै भएको यहाँका स्थानीय बताउँछन् । 

भौगोलिक हिसाबमा त हामी निकै विटक थियौँ । अहिले टेलिफोन सेवा सुविधाबाटसमेत वञ्चित हुँदै आएको हिमाली गाउँपालिका –३ स्थानीय जसबहादुर भण्डारीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “अहिले हाम्रो गाउँमा न टेलिफोन, न सडक न विद्युत् छ । देशले नयाँ अनुहार फेर्दै गएको छ । तर हाम्रो अवस्थामा पुरानै छ । अहिले हामी पुरानै मोडेलमा झरो र टुक्कीको भरमा रात काटी रहेका छाैं ।”

गाउँ गाउँमा सिंहदरबार आएको भन्छन् । हाम्रो लागि सहिदरबार जहाँ पहिला थियो । अहिले पनि उतै रहेको मसहुसु भएको भण्डारीले बताउनु भयो ।

जिल्लाकै निकै दुर्गम गाउँ बस्तीका स्थानीयलाई पछिल्लो समय यो सेवा दिनका लागि हामीले विभिन्न निकाय सँग धेरै प्रयास गर्दै आएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनु भयो । 

उहाँले भन्नु भयो, “हामीले नेपाल टेलिकम शाखा बाजुरालाई धेरै पटक कुरा राखेको थियौँ । उता देखि केती खबर आएको छैन । सोलारको भरमा टेलिकमको टावर निर्माण गर्नु पर्ने हुन्छ । यहाँ धेरै चिसो हुने भएकोले त्यो सोलारले काम गर्दैन ।” 

गत वर्ष साउनमा आएको बाढीले यहाँको विद्युत् पुर्णरूपमा भत्किएपछि अहिले त्यो टावरमा विद्युत् जडान गर्न सकिने अवस्था छैन । फेरि पनि यहाँका स्थानीयको यो समस्या समाधान गर्नका लागि अहिले हामी विभिन्न निकाय सँग सहकार्य गर्दै आएको अध्यक्ष मल्लले बताउनु भयो । 

फोनको नेटर्वक दरिलो गर्नका लागि पनि फाइबर आवश्यक पर्छ । त्यो मार्तडी भन्दामाथि जडान गरेका छैनौँ । पछिल्लो समय हामीले जिल्लाका सबै ठाउँमा नेट राम्रो सँग कनेक्सन हुने गरी काम गर्दै आएका छौँ । केही समय पछि हामी त्यहाँ पनि नेटको अवस्था के कस्तो छ । त्यसैको आधारमा लाइन विस्तार गर्दै जाने नेपाल टेलिकम जिल्ला शाखाका बाजुराका प्रमुख ईश्वर सिहले बताउनु भयो । 

विद्युत् सेवाबाट समेत वञ्चित 

बाजुराको हिमाली गाउँपालिका–३, गुम्बावासी पनि सञ्चार तथा विद्युत् सेवाबाट समेत वञ्चित हुँदै आएका छन् ।  गुम्बाका ६५ जना जनजाती परिवार पुस्तौ देखि अहिलेसम्म झरो र टुकीको भरमा रात काट्न बाध्य हुँदै आएका छन् । 

हिमाली अन्य गाउँ बस्तीमा २०७८ सालमा विच्छ्या खोलामा उत्पादन गरेको विद्युतले गाउँमा बत्ती बलेको थियो । गत साउनमा आएको बाढीले त्यो विद्युतको नहर बगाएपछि अहिले ती गाउँ बस्ती समेत उज्यालोबाट वञ्चित हुँदै गएका छन् । 

जिल्लाको गुम्बावासीको यो पीडा अहिले को मात्र होइन । यहाँका स्थानीय पुस्तौ देखि उज्योलोबाट वञ्चित हुँदै आएका छन् । गाउँमा बत्ती नहुँदा यहाँका स्थानीयलाई सरकारी कार्यालय देखि दिने कुनै पनि विद्युतीय सेवाबाट समेत वञ्चित हुने गरेका छन् ।

हिमाली गाउँपालिका–३, विच्छ्या निकै दुर्गम गाउँमा पर्दछ । यहाँ अन्य गाउँमा केही वर्ष पहिला शिक्षा , स्वास्थ्य र गोरेटो बाटोको समेत सुविधा गरेको थियो । 

गत साउन २८ गते राति आएको बाढीपहिरोले फेरि ती सबै विकास निर्माणका योजनाहरूलाई तहस नहस गरे पनि अहिले यहाँका स्थानीयलाई फेरि बाटो, विद्युत्, टेलिफोन लगायतका ती सबै सेवाबाट वञ्चित हुँदै आएका छन् । 

गुम्बा जिल्लाकै एक दुर्गम गाउँमा पर्छ । यहाँ सडक पुगाउन पालिकाको रकमबाट सम्भव छैन् । गत वर्षमा सरकारले यहाँ सडक पुगाउँनका लागि झण्डै पाँच करोड रुपियाँ विनियोजन गरेको थियो । अहिलेको सरकारले त्यो रकम रोकिएदिएपछि अहिले यहाँका स्थानीय सडक सुविधाबाट वञ्चित भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नभुयो, “गत वर्षको बाढीले गर्दा अहिले यहाँको गुम्बा मात्र नभई अन्य ४, ५ र ६ वडाका स्थानीय समेत उज्यालोबाट वञ्चित हुँदै आएका छन्। 

गत वर्षको साउनमा विच्छ्या खोलामा आएको बाढीपहिरोले यहाँ धेरै ठुलो क्षति गरेकोले अहिले पालिकालाई यो क्षति पुर्ति गर्न निकै समस्या भएको छ । यसका लागि विभिन्न सरकारी तथा सहयोगी दाता सँग आर्थिक सहयोगको पहल कदमै गर्दै आएको अध्यक्ष मल्ले बताउनु भयो ।